अर्घाखाँचीमा नेकपा vs कांग्रेस, सुनौलीबाट नेकपाले ४२ जनालाई लिएर आयो (तस्बिर भिडियो सहित)
बैशाख १२ गते, २०७७ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सुनौली नाकामा रोकिएका अर्घाखाँचीबासीलाई अर्घाखाँची जिल्लामा ल्याउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसको भिडन्त चलेको छ । शुक्रबार साँझसम्म नेकपाले ४२ जना जिल्ला ल्याउन सफल भएका छन् ।
मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले डट्कमलाई बताए अनुसार सुनौलीको नौतुनामा करिव १ महिनादेखि रोकिएका १३० जना मथ्ये ४२ जनालाई टोपबहादुर रायमाझी, चन्द्र बहादुर खड्का, चेतनारायण आचार्य र रामजी प्रसाद घिमिरेको पहलमा जिल्ला ल्याउन सफल भएको हो ।
उनिहरुलाई सुनौली नाकाको नेपाल प्रवेशमा ४२ जनाको स्वास्थ्य चेक जाच गरी अर्घाखाँचीमा मालारानी नगरपालिकाले लगेको बसबाट ल्याइदै छ । बसमा २७ जना मालारानी र १५ जना सन्धिखर्कका छन् । नेकपा अर्घाखाँचीको निर्यण अनुसार मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य बस लिएर सुनौली पुगेका थिए ।
उनिहरुलाई डोहोटेमा पुन: स्वास्थ्य चेक गरी फुदवाङ बजारमा नेकपाको राष्ट्रिय युवा संघ अर्घाखाँचीले बनाएको खाना खुवाएर स्थानिय तहमा बनाइएको क्वारेन्टाइनमा लगिने छ । ४२ जना नेकपा समर्थक भएको र उनिहरुलाई छानी – छानी ल्याइएको सुनौलीमा रहेकाले बताएका छन् । नेकपा र नेपाली कांग्रेसको भिडन्त जारी रहदा टोपबहादुर रायमाझीलाई महानायक र भगवान भनेर केही समुहले प्रचार- प्रसार गरिरहेका छन् ।
उता नेपाली कांग्रेसले पनि पहल गरेको बताइएको छ । सुनौली नाका तथा भारतीय सिमानामा अलपत्र परेका अर्घाखाँचीबासीलाई जिल्लामा ल्याउन सम्बन्धित पक्षसँग आफुले पटक-पटक छलफल गरेपछि समस्याको समाधान भएको र उनिहरुलाई जिल्लामा ल्याउनका लागि पहल गरेको नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य तथा संघिय सांसद संसदिय दलका सचेतक पुस्पा भुसालले जानकारी गराएकी थिईन् ।
१३० जना मथ्ये बाँकी ८८ जनालाई कसले कहिले ल्याउने भन्ने अझै अर्को चरणको नेकपा – कांग्रेसको भिडन्तबाट थाहा हुन्छ । तर नेकपाले भोली पर्सीमा बाँकीलाई ल्याउने तयारी भएको बताएको छ ।
यसअघि काठमाडौंबाट ४०० जनालाई अर्घाखाँची ल्याउने क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसको भिडन्त चलेको थियो । अहिले लकडाउनको बेला नेकपा र कांग्रेसको आफ्ना मान्छे जिल्लामा भित्राउन प्रतिस्पर्दा चलेको छ । यि दलहरुलाई चुनाव भन्दा बढी लकडाउन चेलेको छ ।