टोपबहादुर रायमाझीद्वारा आफुलाई सुनियोजित तवरबाट बदनाम गराइएको दुःखेसो

मुक्तिनाथ भुसाल
सन्धिखर्क, अर्घाखाँची । नोभेल कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुक लकडाउनमा रहेको भए पनि यस साता लकडाउन तोडिएको एक सन्दर्भ अर्घाखाँचीमा चर्चाको विषय बनेको छ ।
लकडाउनको समयमा पैदल हिँड्ने सामान्य नागरिकहरूलाई प्रहरी प्रशासनले कान छोपेर उठबस गराएका घटनाहरू सार्वजनिक हुँदै गर्दा गत बुधबार (१० वैशाख) मात्र जिल्लामा ४ सय एक जना सामुहिक रूपमा प्रवेश गरेका छन् । जसमध्ये २३ जना गुल्मी र तीन जना प्युठानका समेत रहेको बुझिएको छ ।
यो कसरी सम्भव भयो भन्ने जिज्ञासाका साथ सामाजिक सन्जाल तथा विभिन्न सञ्चारमाध्यमहरू नियाल्दा पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधीसभा सदस्य टोपवहादुर रायमाझीको पहलकदमीमा नागरिकहरू जिल्ला भित्रिएका बुझ्न गाह्रो परेन । नेता रायमाझीनिकट मानिने लीला जिसीदेखि राजन अधिकारी, भानु खनाल, इश्वर बन्जाडेलगायतले सामाजिक सन्जालमा रायमाझीको सहयोगी स्वभावको खुलेर प्रशंसा गर्नुको साथै लकडाउन तोड्दै नेता रायमाझीले ठुलो संख्यामा जिल्लावासीलाई अर्घाखाँची लगेको टेलिभिजनले समचार बनाएको थियो । जसबाट नेता रायमाझीले किन लकडाउन उल्लंघन गर्नुपरेको हो भन्दै थप समचार सार्वजनिक भएपछि कलंकीको भिडमा देखिएका नेता रायमाझीले आफुलाई सुनियोजित तवरबाट बदनाम गराइएको दुःखेसो विभिन्न मिडियामार्फत पोखेका छन् । अर्कातर्फ जिल्लामा आएकाहरू मध्ये चर्चामा रहेका केही व्यक्तिले नेता रायमाझीको पहलकदमीमा आफुहरु नआएको आशयसमेत घुमाएर व्यक्त गरेपछि यसबारेमा थप अनुसन्धानका लागि पंक्तिकारको ध्यानाकृष्ट भएको हो ।
संक्षेपमा भन्नुपर्दा काठमाडौंबाट जिल्लामा आएकाहरू कुनै पनि शीर्ष नेताहरूको सहयोग भन्दा पनि आफ्नै प्रयास, खुबी र पँहुचका आधारमा जिल्ला भित्रिएको बुझिएको छ । यस कार्यका लागि तरुणदलमा आस्था राख्ने केही युवाले अग्रस्थानमा भूमिका निर्वाह गरेको जानकारी मिलेको छ ।
बुझिएअनुसार उनीहरुले कसरी जिल्ला जाने भन्दै शुरुमा कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष उनका पीएमार्फत् कुरा पुर्याएका भए पनि सहयोग हुन सकेन । त्यसपछि नेता प्रकाशमान सिंहलाई सम्पर्क गर्दा उनले आफू उपत्यकाबाहिर रहेको कारण सहयोगका लागि असमर्थ भएको जवाफ फर्काए छन् । त्यसपछि उपसभापति विमलेन्द्र निधि र अर्का नेता बालकृष्ण खाणलाई टेलिफोन गर्दा सम्पर्क हुन नसकेको बुझिन्छ ।
त्यसपश्चात उनीहरू युव संघका एक चर्चित व्यक्तिसमक्ष पुगे, तर लकडाउन तोड्ने कुरामा सहयोग हुन नसकेपछि सुशील भट्टराईको माध्यमबाट नेता माधव कुमार नेपालका पिए मोहन गौतमसमक्ष पुग्दासमेत सहयोग नमिलेपछि उनीहरूमध्येबाट कांग्रेसनेतृ पुष्पा भुसालको सहयोग माग्दा त्यहाँबाट पनि चाहना पूरा हुन सकेको थिएन । त्यसपछि जे त होला भन्ने अठोटका साथ कंलकीमा पुगि प्रहरी प्रशासनसँग अनुरोध गर्दा ‘हामीले जानुहोस् भन्न मिल्दैन तर रोक्ने कार्य पनि गर्दैनौँ’ भन्ने जवाफ पाएलगत्तै उनीहरुले योजना बनाई मंगलबार साँझ आफुहरुसहित चिनेजानेका सबैलाई कलंकीमा जिल्ला जाने भन्दै भेला गराएका तथ्य खुलासा भएको छ ।
यसरी भेला भएकामध्येका एकजनाले नेता रायमाझीलाई फोन गरी हामीहरु ठुलो संख्यामा अहिले जिल्ला जाँदैछौँ, भेटघाटका लागि आउने भए आउनुहोस् भनेपछि नेता रायमाझी त्यहाँ पुगे । यत्तिकैमा खचाखच युवायुवतीहरू देखेर प्रशन्न भएका रायमाझीले सबै गाडी भाडा आफुले तिरिदिने उदघोष गरे पनि सोसमय उनीसँग नगद नभएको र अगुवा युवाहरु पैसामा झुक्न नचाहेका कारण प्रतिव्यक्ति १ हजार पाँचसय संकलन गरी कंलकीबाट यात्रा अघि बढाएका रहेछन् ।
उता मानिसको भिडभाडमा रहेका नेता रायमाझीले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दा आफुले जिल्लावासीहरूलाई घरमा फर्काएको भनी त्यतिबेलै अभिव्यक्ति दिए । यसरी कंलकीबाट यात्रा गरेका उनीहरूलाई बाटोमा अन्यत्र कहीँ पनि चेकजाँच नभए पनि अर्घाखाँचीको प्रवेशद्वार कपिलवस्तुको पत्थरकोटमा १ घन्टा र जिल्लाको डोहोटेमा स्वास्थ्य जाँच भन्दै ३ घन्टा, साथै जिल्लाकै ठाडा चौकीमा करिव ५ घन्टा प्रहरीले रोकेको गुनासो गर्दै यदि शीर्ष नेताहरूबाट सहयोग मिलेको भए त्यसरी बाटोमा रोकिनु नपर्ने तर्क गर्दै यतिबेला रायमाझी लगायतका अन्य नेताहरुले समेत मैले गरेको हुँ भन्नु निरर्थक दाबी भएको बताएका छन् ।
जिल्लाको ठाडामा करिव ५ घन्टा रोकिएपछि उनीहरूलाई सुरक्षाकर्मीले स्कर्टिङ गरी सदरमुकामको टुँडिखेलमा ल्याई करिव चारघन्टा रोकेपछि २६ जनालाई भूमिकास्थान नगरपालिका, ७२ जनालाई सन्धिखर्क नगरपालिका, २४ जनालाई शीतगंगा नगरपालिका, १ सय १५ जनालाई छत्रदेव गाउँपालिका, ७३ जनालाई मालारानी गाउँपालिका र ६५ जनालाई पाणिनी गाउँपालिकाका स्थानीय सरकारहरुको जिम्मा लगाई १४ दिन क्वारेन्टाइनमा राख्ने गरी जिम्मा लगाएको थियो ।
विडम्बना ! नेपालभित्रै अर्को जिल्लाबाट आएकाले उनीहरूलाई क्वारेन्टाइनमा राख्नु नपर्ने भन्दै भूमिकास्थान नगरपालिका बाहेकका पाँच स्थानीय निकायहरूले ज्वरो नापजाँच गरी घर–घरमा पठाइदिएका छन् । यसप्रकार बोलाउनेले बोलाए भन्दैमा नेता रायमाझी उक्त समय कलंकी नपुगेको र आफु आफ्ना जनतालाई जिल्ला फर्काउन सहयोगमा जुटेको भन्नेखालका शब्दहरु मिडियामा नबोलेको भए उनलाई लकडाउन तोडेको आरोप लाग्ने थिएन । यहाँनेर थप रोचक कुरा के छ भने तरुणदलका युवाहरुले सो समय नेपाली कांग्रेसका नेताहरुलाई बोलाउनुको साटो किन रायमाझीलाई बोलाउनु परेको हो भन्दै कांग्रेस खेमाभित्र असन्तुष्ट रहेको बुझिएको छ । लकडाउन तोडेर जिल्ला जाने साहस प्रदर्शन गरेका केही महत्वपूर्ण तरुणदलका युवाहरु यतिबेला रायमाझीको मात्र नभई नेपाली कांग्रेसको तर्फबाट समेत आलोचित हुनुपरेको भन्दै उनीहरु मध्येबाटै दुःखेसो सुनिएको छ ।

अन्य समाचारहरु