प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाभर हालसम्म ४ हजार ९ सय ४५ घर परिवारमा राहत वितरण गरिएको छ । कोरोना संक्रमणका कारण गत चैत ११ गते देखि लकडाउन भएपछि झन्डै ५ हजार घर परिवारमा राहत वितरण गरिएको स्थानीय तहका प्रमुखले दावी गरेका छन् ।
पाँचवटा स्थानीय तहका ४ हजार ९ सय ४५ जनालाई एक लाख २१ हजार ३ सय ७ किलो चामल, १० हजार तीन सय ६४ किलो दाल, सात हजार ९ सय १२ लिटर तेल र ७ सात हजार १ सय ४१ किलो नुन वितरण गरिएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ ।
भुमिकास्थान नगरपालिकाले भने हालसम्म राहत बाँड्न सकेको छैन । जिल्लाका ६ मध्ये पाँच वटा स्थानीय तहले पहिलो चरणको राहत वितरण गरी सक्दा पनि भूमिकास्थान नगरपालिकाले राहत वितरण गरेको छैन ।
लकडाउन भएको डेढ महिना बितिसक्दा पनि राहत वितरण गर्न नसक्दा विपन्न तथा ज्याला मजदुरी गर्ने समस्यामा परेका छन् । भूमिकास्थान नगरपालिकाका १० वटा वडामा रहेका दैनिक मजदुरी गरेर खाने र अती विपन्न घर परिवारलाई राहत वितरण नहुँदा उनीहरु भोकै बस्न बाध्य छन् ।
नगरपालिकाले विपन्न र मजदुरको यकिन तथ्यांक संकलन गर्न नसक्दा राहत पाउनुपर्ने नागरिकले राहत पाएका छैनन् । नगरपालिकाका मेयर रेशम थापाले वडाबाट सही विवरण नआएकाले वितरणमा ढिलाइ भएको बताए ।
वास्तविक विपन्न परिवार छनोटमा लापरवाही भएको र वडाबाट चाहिने भन्दा धेरैको नाम छनौट भएर आएकाले राहत वितरण गर्न नसकिएको जानकारी दिए । नगरपालिका भित्र ४ हजार घर परिवारले राहतका लागि फारम भरेका छन् । वडा कार्यालयमार्फत उनीहरुलाई राहतका लागि सिफरिस गरिएको थियो ।
वडा कार्यालयमार्फत सिफारिस भएर आएका विपन्न तथा मदजुर वास्तविक नभएको पाइएपछि राहत वितरणमा ढिलाइ भएको प्रमुख प्रशासकीय अधिकृत नारायण भण्डारीले बताए । नाम पुनः छनौट गर्ने कार्य चलिरहेकाले सम्पन्न भएपछि राहत वितरण गरिने जानकारी दिए ।