धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पोजिटिभ , मृतक महिलाको उपचारमा संलग्न १० जनालाई क्वारेन्टाइनमा लगिँदै

काठमाडौँ — धुलिखेल अस्पतालले मृतक महिलाको उपचारमा संलग्न १० जनाको टोलीलाई क्वारेन्टाइनमा राख्ने तयारी गरेको छ । अस्पतालको ल्याबमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि यो तयारी गरिएको अस्पताल उच्च स्रोतले बताएको छ ।

धुलिखेल अस्पतालको कोभिड-१९ टाक्स फोर्सको तीन बजे स्काईपमा भएको बैठकले उपचारमा संलग्न १० जनाको टोलीलाई क्वारेन्टाइनमा राख्ने र यसअघि नै आकस्मिक कक्षलाई सिल गरेकोमा त्यसलाई निरन्तरता दिने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

 कोरोना संक्रमणको आशंका गरिएकी एक महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पताल मृत्यु भएपछि अस्पतालमा उच्च सतर्कता अपनाइएको छ । मृत्युपछि धुलिखेल अस्पतालमै गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको बताइएको छ । बिहीबार साँझ नै सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो ।

अस्पताल उच्च स्रोतका अनुसार राति साढे ९ बजे इमर्जेन्सीमा ल्याउँदा उनको अवस्था निकै गम्भिर थियो । साथै स्वास फेर्न समेत निकै कठिन भइरहेको थियो ।

‘हामीले अनेक प्रयास गर्‍यौं । स्वास फेर्न गाह्रो भएको थियो । ट्युब राखेर भेन्टिलेट गर्दा पनि बचाउन सकेनौं,’ उनले भने, ‘त्यसपछि हामीले स्वाब लिएर परीक्षण गर्दा आज बिहान रिपोर्ट पोजिटिभ आयो । थप यकिन गर्न हामीले नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पनि पठाएका छौं ।’

स्रोतका अनुसार २९ वर्षकी ती महिलाले बैशाख २३ गते काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बच्चा जन्माउनको लागि भर्ना भएकी थिइन् । उनले २४ गते बच्चालाई जन्म दिएकी थिइन् । शिक्षण अस्पतालबाट २५ गते डिस्चार्ज भएकी उनलाई बाह्रबिसे पुगेपछि स्वास्थ्यमा समस्या देखिएको जानकारी प्राप्त भएको छ ।

कोरोना संक्रमणको आशंकामा उनको स्वाव संकलन गरी पीसीआर परिक्षण गर्दा शंकास्पद रिपोर्ट आएपछि पुनः परीक्षण गर्न पठाइएको धुलिखेल अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिए ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकी ती महिलाको मृत्यु भएपछि अस्पतालबाट ५ सय मिटरको दुरीसम्म कसैलाई प्रवेश दिइएको छैन । ‘सतर्कता अपनाएका हौं, संक्रमणको पुष्टी भइसकेको छैन,’ जिल्ला विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले भने, ‘रिपोर्ट आएपछि सोही अनुसारको निर्णय गर्छौं ।’


स्रोत- कान्तिपुर