सी. पी. खनाल
बुटवल– गुल्मी मदानेका कोरोना संक्रमितको उपचार भइरहेको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालका २८ जनाको स्वाब संकलन गरिएको छ।
जन्डिसको लक्षण देखिएपछि उपचारका लागि जेठ १ गते अस्पतालमा भर्ना भएका ४१ वर्षीय पुरुषमा सोमबार कोरोना पोजेटिभ देखिएको थियो।
ती बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उनको सम्पर्कमा आएका अस्पतालका चिकित्सक, नर्ससहित उपचारमा संलग्न कर्मचारी र बिरामीका आफन्त तीनजना गरी २८ जनाको स्वाब संकलन गरिएको हो।
शिल गरिएको अस्पतालमै पुगेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाका स्वास्थ्यकर्मीको टोलीले २८ जनाको स्वाबको नमूना संकलन गरेको प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले बताए।
बिरामीको अवस्था चिन्ताजनक
जन्डिसका कारण सिकिस्त भएका बिरामीको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।
उनको भेन्टिलेटरको सहायताले आईसीयू कक्षमा उपचार भइरहेको छ। यसअघि जन्डिसको समस्या देखिएपछि संक्रमित व्यक्ति मदानेको पुर्कोट दहबाट जेठ १ गते उपचारका लागि अर्घाखाँची सन्धिखर्कको छाया पोलिक्लिनिकमा गएका थिए।
त्यहाँ उपचार सम्भव नभएपछि उनी रूपन्देहीको तिलोत्तमामा रहेको क्रिमसन अस्पताल आएका थिए। सो पोलिक्लिनिकमा काम गर्ने १० जना स्वास्थ्यकर्मीको पनि पीसीआर परीक्षणका लागि स्वाब लिइएको छ।
त्यहाँ दुई घण्टा चेकजाँच गराएपछि थप उपचारको लागि एम्बुलेन्समा क्रिमसन अस्पताल आएका हुन्।
अस्पतालभित्र डाक्टर, नर्ससहित १ सय २५ जना अस्पतालका कर्मचारी, ३७ जना भर्ना भएका बिरामी र विरामीका कुरुवा करिब ५० जना अस्पतालभित्रै रहेका अस्पताल प्रशासनले जनाएको छ।