अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं. ८ पालीकाे कमला माध्यमिक विद्यालय क्वारेन्टाइनमा काेराना पाेजिटिभ देखिएका २ जनालाई दाङ पठाइने भएको छ ।
उनीहरुलाई उपचार तथा सजगताका लागि सुविधा सम्पन्न दाङको कोरोना अस्पतालमा पठाउने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले बताए ।
दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा समन्वय गरेर दाङ पठाउन लागिएको खनालले बताए। दाङको कोरोना अस्पतालमा बिरामीको चाप कम भएकाले त्यहाँ पठाउन लागिएको खनालको भनाइ छ।
बिरामीलाई लैजान रेडक्रसको एम्बुलेन्समा तयारी गरिएको छ। एम्बुलेन्समा चालक र दुई संक्रमित मात्र हुने जनाइएको छ।
संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र आजै रेड्क्रस अर्घाखाँचीको एम्बुलेन्समा दाङ स्थित कोरोना अस्पतालमा पठाउने तयारी भईरहेको जिल्ला अस्पताल प्रमुख कपिल गौतमले डटकमलाई जानकारी दिनुभयो ।
पालीकाे कमला मावि
पालीकाे कमला माध्यमिक विद्यालय क्वारेन्टाइनमा काेराना पाेजिटिभ देखिएका १९ र ४३ बर्षका दुई पुरुषलाई आईसाेलेशन कक्षमा राखेर उपचार गर्न मंगलवार एम्बुलेन्सबाट दाङ पठाइने भएको हो ।
उता सोमबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परिक्षणमा १९ र ४३ बर्षका दुई पुरुषमा पीसीआर परीक्षण पाेजिटिभ देखिएकपछि अर्घाखाँचीमा त्रास बढेको छ ।
पालीकाे कमला मावि क्वारेन्टाइनमा रहेकाहरुको नमूना स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएकोमा २ जनामा काेराना पाेजिटिभ आएको हो ।
उनिहरू दुबै जना जेठ २ गते भारतबाट आएका थिए । उनिहरूको जेठ ९ गते पिसीआर जाँचका लागी स्वाव परिक्षण गर्न प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाईएको थियो । उनिहरू सगै क्वारेन्टाइनमा बसेका अन्य ३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
पालीलाई पूर्ण रुपमा सिल
यस्तै पालीकाे कमला मावि क्वारेन्टाइनमा २ जनामा काेराना पाेजिटिभ देखिएपछि यहाँ सिल गरिएको छ ।
पीसीआर परिक्षणमा १९ र ४३ बर्षका दुई पुरुषमा पाेजिटिभ देखिएपछि पाणिनी गाउँपालिका वार्ड नं. ८ पालीलाई पूर्ण रुपमा सिल गरिएको स्रोतले बताएको छ । यहाँ पूर्ण रुपमा आवतजावत बन्द गरिनेछ ।
अर्घाखाँची जिल्लामा यसअघि नै सिल गरिएपनि गाउँ – गाउँमा चहलपहल आवतजावत जारी छ ।
भैरहवा भिम हस्पिटलका सूचना अधिकृत डा. गोपाल उपाध्यायका अनुसार पाेजिटिभ देखिएका दुवै पुरुष भारतबाट आएका थिए । उनिहरुको १४ दिन पुरा भएपछि पीसीआर परीक्षणको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको थियो ।
यस्तै दुबैजनाको स्वास्थ्य सामान्य रहेको बताइएको छ । उनिहरूलाई आईसाेलेशन कक्षमा राखेर उपचार गर्न अर्घाखाँची अस्पताल सन्धिखर्क ल्याईएको छ । अर्घाखाँची जिल्लामा पहिलोपटक कोराना संक्रमण देखिएको हो ।
पाणिनी गाउँपालिकामा १५०० शैयाको क्वारेन्टाइन निर्माण भएको छ । भारतबाट आएका १२५ जना क्वारेन्टाइनमा रहेका छन् । २ जना बाहेक अहिलेसम्म पिसिआर परिक्षण ८ जना, आरडिटी परिक्षण १२ जनाको गरीएको र सबैको नेगेटिभ आएको परिक्षण गरेकाहरु २० जनालाई होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको छ ।
अब भारतबाट १ हजार जति पाणिनीबासीलाई ल्याउने पहल गरीएको गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले जानकारी दिनुभयो ।