रूकुमको नरसंहारले ,हामी सबैको अनुहारमा कालो पोतिएको छ , संसदले टुलुटुलु हेरेर बस्ने हो भने लाज पनि हामीसँग लजाउँछ -गगन थापा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ मा भएको घटनाबारे छानविन गर्न सर्वदलीय संसदीय छानविन समिति गठनको माग गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोलेका सांसद थापाले दलितका हकअधिकार र कानुन बनायौं भनेर गर्व गरिरहँदा रूकुमको नरसंहारले अनुहारमा कालो पोतिएको बताए।

‘दलितका हक लेख्यौं, कानुन बनायौं भनेर गर्व गरिरहँदा रूकुमको नरसंहारले यस्तो गर्व गरिरहेको हामी सबैको अनुहारमा कालो पोतिएको छ,’ सांसद थापाले भने।



उक्त घटनामा राज्यको लाचारीलाई संसदले टुलुटुलु हेरेर बस्न नसकिने उनले बताए।

‘यस्तो अमानवीय र त्रुर घटनालाई भवित्वय हो भनेर देखाउन र सहायक कारण देखाएर यो घटनाको जरामा रहेको उच्च जातीय अहंकारको ढाकछोप गर्न भइरहेको संगठित पयत्न र राज्यको लाचारीलाई यो संसदले टुलुटुलु हेरेर बस्ने हो भने लाज पनि हामीसँग लजाउँछ,’ थापाले भने।



उनले अविलम्ब सर्वदलीय संसदीय छानविन समिति गठन गर्न माग गरे।

‘अविलम्ब सर्वदलीय संसदीय छानविन समिति गठन गर्नुपर्छ। यो नबनाएसम्म हामी मागिरहनेछौं। न्यायका पक्षमा बोलिरहेनेछौं। लडिरहनेछौं,’ थापाले भने।

उक्त घटनामा आफ्नी प्रेमीकाको घर गएका जाजरकोटका नवराज विकर उनका पाँच जना साथी मृत्यु भएको थियो। एक जना अझै बेपत्ता छन्।