अर्घाखाँचीमा तरकारी नष्ट गर्न संलग्न भएका सबैलाई कारबाही हुने, १० वर्ष कैद
जेष्ठ २३ गते, २०७७ मा प्रकाशित
२०७७ ज्येष्ठ २२, विहीवारमा प्रकासित
अर्घाखाँचीडट्कम संवादाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा कोरोना संक्रमित जिल्ला कपिवस्तुबाट ल्याईएको तरकारी नष्ट गर्नेहरुलाई कारबाही गरिने भएको छ ।
काठमाडौंमा संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले अनधिकृत रूपमा तरकारी तथा फलफूल नष्ट गर्ने व्यक्तिलाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएसँगै अर्घाखाँचीमा तरकारी नष्ट गर्नेहरु कारबाहीमा पर्ने भएका हुन् ।
गत ज्येष्ठ १८ गते आइतवार सदरमुकाम सन्धिखर्कमा कोरोना संक्रमित जिल्ला कपिवस्तुबाट ल्याईएको तरकारी नष्ट गरिएपछि प्रहरी, प्रशासनको व्यापक विरोध भएको थियो ।
समितिको बिहीबार बसेको बैठकले गृह मन्त्रालयलाई निर्देश गर्दै भनेको छ, ‘कोभिड– १९ रोकथाम गर्ने सम्बन्धमा कानुनलाई हातमा लिई अनधिकृत रूपमा तरकारी तथा फलफूल नष्ट गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही गरी किसानको तरकारी निर्वाध रूपमा ओसारपसार गर्न सक्ने व्यवस्था गर्नू ।’
देशका विभिन्न जिल्लामा कृषि उपज नष्ट गरिएको घटना दण्डनीय भएको भन्दै मन्त्रालयले अत्यवश्यक खाद्य वस्तुको पहुँचबाट वञ्चित हुने कार्य गर्नेलाई १० वर्ष कैद तथा १० लाख रुपैयाँ जरिवाना हुन सक्ने भन्दै सचेत गराएको छ ।
कपिवस्तुबाट ल्याईएको तरकारी नष्ट गरेको समाचार अर्घाखाँचीडट्कममा प्रकासित भएलगतै प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले बाहिर जिल्लाबाट तरकारी ल्याउन राेकिएको, कडा निगरानी गरिएको र तरकारी नष्ट नगर्ने तरकारी जस्तो थियोे त्यस्तै फिर्ता गर्न आग्रह गरेको बताउनुभएको थियो । तरकारी फिर्ता गर्न आफूले नै भनेको भएता पनि तरकारी फ्याक्न नभनेको पौडेलको दावी छ ।
सन्धिखर्कमा बिगत लामो समय देखि खाद्यान्न तथा तरकारी फलफूलहरु बिक्रीवितरण गर्दै आइरहेको पुस्पा स्टोरका संचालक किशोर बानियाँले छिमेकी जिल्ला कपिलवस्तुको बुद्धभुमी नगरपालिका वार्ड न. १० बाट बिक्रीवितरणको लागि ल्याइएको ५० हजार मुल्य बराबरको हरियो तरकारीहरु कोरोना संक्रमण हुन सक्ने भन्दै आईतबार दिउसो नस्ट गरिएको थियो ।
कपिलवस्तुबाट बिक्रीवितरणको लागि ल्याइएको बोडी ५० किलो , करेला ५० किलो, खुर्सानी ५० किलो , लौका १०० किलो, टमाटर ३०० किलो, घिरौला ५० किलो, भेन्डी ५० किलो प्रशासनको इजाजत बिना ल्याइएको र हरियो तरकारीमा कोरोना संक्रमण हुन सक्छ भन्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको निर्देशनमा खटिएको प्रहरी टोलीले सदरमुकामको डम्पिङ साइड अउलाखोलामा लगेर नस्ट गरेको थियो ।
यसअघि जिल्लामा बसेको सर्वदलिय सर्बपक्षिय बैठकले कोरोना संक्रमित जिल्लाबाट तरकारी ल्याउँन नपाईने निर्णय गरिएको थियो । तर पनि प्रहरीले चेकजाँच राम्रो नगरेर यो घटना भएको बताइएको छ ।
उता आज बिहीवार सदरमुकाम सन्धिखर्कमा प्रमुख जिल्ला अधिकारी बिजयराज पाैडेलकाे अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बसेको सर्बदलिय बैठकले अन्य जिल्लामा उत्पादन भएको तरकारी, स्थानीय तह, कृषि सहकारी, कृषि फर्मकाे सिफारिस र बिल बिजककाे आधारमा जिल्लामा आयत गरि बिक्री बितरण गर्ने निर्णय गरेको छ ।
यस्तै सर्बदलिय बैठकले बिहान ७ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खाद्यान्न, तरकारी फलफूल, दुग्ध जन्य पदार्थ मासु पसल सदा झै सामाजिक दुरि कायम राखेर सन्चालन गर्ने निर्णय गरेको छ ।