काठमाडौं ,ब्युरो ।लकडाउनपछि पहिलो पटक औपचारिक रूपमा नेपालीहरू स्वदेश फिर्ता भएका छन्। उनीहरूलाई प्राथमिकताको आधारमा फिर्ता ल्याइएको हो।
सरकारले लकडाउन जारी गरेको ७० दिन कटेपछि विदेशमा रहेका स्वदेशी आएका हुन्।विमानस्थल कार्यालयका अनुसार पौने ११ बजे म्यानमार एयरफोर्सको जहाज नेपाली ल्याएर आएको हो। म्यानमार सरकारले आफ्नै खर्चमा यी नेपाली ल्याइदिएको हो।
आजै युएईबाट नेपालीहरू नेपाल आउँदैछन्। अब उनीहरूलाई राजधानीमा विभिन्न ठाउँमा बनाइएको होल्डिङ सेन्टरमा राखिने छ। त्यहाँ बस्दा उनीहरूले आफैंले खर्च व्यहोर्नुपर्नेछ।
शुक्रबार बिहान म्यानमारबाट २६ जना नेपाली स्वदेश आएका हुन्। म्यानमारबाट उद्दार गरिएका २६ जना नेपालीलाई नेपाली सेनाले वसुन्धारातर्फ लगेको छ । उनीहरुलाई वसुन्धारामा रहेको यति पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राख्न लगिएको हो ।
सैनिक स्रोतका अनुसार काठमाडौंमा प्रदेश नं. ३, ४ र ५ घर भएकालाई मात्र राख्ने भनिए पनि बर्माबाट आएकाको संख्या थोरै भएकाले सबैलाई वसुन्धारामै राख्न लागिएको हो । सेन्टरमा उनीहरुले बढीमा एक रात बस्नुपर्नेछ ।
त्यसपछि उनीहरुलाई होम क्वारेन्टाइनमा बस्ने गरी व्यवस्था मिलाइनेछ । उनीहरुमध्ये सबैको पीसीआर रिपोर्ट नेगेटिभ भएकाले होम क्वारेन्टाइनमा पठाउन लागिएको हो । यद्यपि, उनीहरुको स्वास्थ्य स्थितिको हरेक विवरण सेनाले राख्नेछ ।
कोरोना परीक्षण नगरिएकाको हकमा सम्बन्धित प्रदेशमा १४ दिनसम्म क्वारेन्टाइनमा राखेर घर पठाउने सरकारी तयारी छ । शुक्रबारै यूएईबाट पनि १६८ जनालाई नेपाल ल्याउने तयारी गरिएको छ ।