भारतबाट नेपाल फर्कनेहरुको संख्या अत्याधिक, क्वारेन्टाइन व्यवस्थापन गर्न हम्मे

-दुर्गा उपाध्यय

कन्चनपुर । पछिल्लो समय सरकारले अनुमति दिएपछि स्थानीय प्रशासनले दशगजा र भारतका विभिन्न शहरहरुमा अलपत्र परेका नेपालीहरुलाई भित्र्याउने काम गरिरहेको छ ।

दैनिक पाँच सय बढीको संख्यामा नेपालीहरु कञ्चनपुरमा भित्रिएपछि यतिबेला पालिकाहरुलाई क्वारेन्टाइनको व्यवस्था गर्न हम्मेहम्मे परेको छ ।

कोरोना संक्रमणको महामारीका कारण गड्डाचौकी नाकाबाट मात्रै हालसम्म एक लाख १० हजार बढी नेपालीहरु स्वदेश भित्रिएका छन् ।

यही जेठ १२ गते यता यस नाकाबाट २७ हजार नेपालीहरु नेपाल प्रवेश गरेका छन् ।

उनीहरुमध्ये आठ हजार आठ सय ८५ जनालाई अहिले कञ्चनपुरका विभिन्न क्वारेन्टाइनहरुमा राखिएको छ भने एक हजार दुई सय १५ जना क्वारेन्टाइन अवधि पूरा गरि घर फर्किएका छन् ।

कञ्चनपुरमा १ सय ७७ वटा क्वारेन्टाइन भए पनि घर फर्किनेको संख्या बढ्दै गएपछि अहिले यी क्वारेन्टाइनले चाप थेग्न नसक्ने देखिएको छ ।

जसले गर्दा एउटै विद्यालयमा ५० देखि एक सयको संख्यामा व्यक्तिहरुलाई राखिएको पाइएको छ ।

जहाँ प्रायः सबैले एउटै शौचालय र पानीको धारा प्रयोग गरेको देखिन्छ । यसले रोग नियन्त्रण गर्न बनाइएका क्वारेन्टाइनमा नै संक्रमणको जोखिम देखिएको छ ।

त्यतिमात्रै होइन भारतबाट सुरक्षित फर्किएकाहरुलाई समेत अन्य व्यक्तिसँगै एउटै कोठामा राखिएको छ ।

यसकारण क्वारेन्टाइन अवधि पूरा गरेर घर फर्किदा आफूहरुको पिसिआर नै परीक्षण हुनुपर्ने उनीहरुको माग छ ।

क्वारेन्टाइनका लागि सरकारले आवश्यक मापदण्डसहितको निर्देशिका तयार गरे पनि व्यवहारमा भने लागू भएको पाइँदैन् ।

भौगोलिक विकटता र न्युन आर्थिक स्रोत भएका कतिपय पालिकाहरुले क्वारेन्टाइनमा बसेका व्यक्तिलाई खानाको व्यवस्था गर्न नसकेपछि परिवारले नै घरबाट क्वारेन्टाइनमा खाना पुर्‍याउने गरेका छन् ।

त्यतिमात्रै नभइ कतिपय क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रातीमा घर जाने र दिउँसो मात्रै क्वारेन्टाइनमा फर्किने गरेका छन् ।

महाकाली नगरपालिकामा मात्रै २७ वटा क्वारेन्टाइनमा झण्डै २५ हजार व्यक्तिलाई राखिएकाले सबै क्वारेन्टाइनमा सुरक्षाकर्मीको प्रवन्ध गर्न नसक्दा गुनासोहरु बढ्दै गइरहेको महाकाली नगरपालिकाका नगर प्रवक्ता दिलबहादुर सिजालीको भनाई छ ।

उता, जिल्लामा रहेका सबै क्वारेन्टाइनमा सुरक्षाकर्मी खटाएको दावी गर्दै क्वारेन्टाइनको अनुपातमा जनशक्ति कम रहेकाले कमजोरी भएको हुनसक्ने कञ्चनपुरका प्रहरी प्रमुख मुकुन्द मरासिनीले बताए ।