२०७७ ज्येष्ठ २६, सोमवारमा प्रकासित
बसन्त खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा एमसीसी विरुद्ध नेकपा मसाल र मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सोमबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
हालै सरकारको निति तथा कार्यक्रम र आर्थिक बजेट २०७७/०७८ मा एमसिसी समावेश गरिएको र सरकारले यसलाई पारित गराउन विभिन्न प्रयत्न गरेको भन्दै विरोध स्वरुप प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा एमसीसी सम्झौता गरे नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधिनता मा गम्भिर संकट पर्ने भन्दै यसले नेपालको संविधान र कानुनलाई समेत निष्कृय बनाईदिने हुदा नेपाली जनताको भावना विपरित पारित नगराउन गम्भिर ध्यानाकर्षण गरिएको जनाईएको छ ।
नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल र राजमो जिल्ला अध्यक्ष थम्मन के.सी.द्धारा हस्ताक्षरित ज्ञापनपत्र उहाँहरु सहित राजमोका नेताहरु शेर बहादुर बि.सी.,झविलाल थापा र बाबुराम पन्थीको सहभागितामा प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको राजमोका नेता कमल प्रसाद भुसालले जानकारी दिनुभएको छ । नेपालको राष्ट्रियता नै धरापमा राखेर नेपाली जनताले एमसीसी स्विकार गर्न नसक्ने भन्दै मसाल र राजमोले सरकार र अमेरिकी सरकारको ध्यानाकर्षण गराएको हो । ज्ञापनपत्रमा देश बेच्ने अधिकार कसैको नभएको,अमेरिकी सैन्य गठबन्धन तथा बैदेशिक हस्तक्षेप सहिय नभएको र एमसीसी कुनै हालतमा खारेज गर्नुपर्ने उल्लेख गरिएको छ ।