बिष्णु कुमार आले
सन्धिखर्क, अर्घाखाँची जेठ २८, २०७७ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा कार्यरत कर्मचारी तथा जनप्रतिनिधि गरी १ सय ३० जनाको स्वाब परीक्षणका लागि चितवनको भरतपुर पठाइएको छ।
सोमबार सन्धिखर्क नगरपालिकाका उपमेयरसहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाका कर्मचारी र उपप्रमुखसँग प्रत्यक्ष सम्पर्कमा आएका १ सय ३० जनाको स्वाब परीक्षणका लागि भरतपुर पशुपन्छी कार्यालयमा रहेको कोभिड १९ प्रयोगशालामा पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकृत विजय विकले जानकारी दिए।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला दाङमा स्वाब परीक्षणको चाप अत्यन्तै बढेसँगै सन्धिखर्क नगरपालिका र मालारानी गाउँपालिकाको गरी २ सय ९ जनाको स्वाब भरतपुर पठाइएको बताइएको छ। पिसिआर रिपोर्ट नआउँदासम्म नगरपालिकाका सम्पूर्ण कामकाज बन्द गरिएका छन्।
सबै कर्मचारीलाई होम क्वारेन्टाइनमा छुट्टै कोठामा बस्न अनुरोध गरिएको र पिसिआर रिपोर्ट नआउँदासम्म कार्यालयको सम्पूर्ण सेवासमेत बन्द रहने प्रमुख प्रशासकीय अधिकृत वीवन ज्ञवालीले जानकारी दिए। सोमबार पुष्टि भएका ३१ जनामा सन्धिखर्क नगरपालिकाका उपमेयर, सन्धिखर्क ६ का १३ जना र सन्धिखर्क ७ का १५ जना छन्। संक्रमित सबैलाई सन्धिखर्क नगरपालिकाको हटारीनेटामा रहेको आइसोलेसनमा राखिएको छ।
उपमेयर भने होम क्वारेन्टाइनमा बस्ने छन्। हटारीनेटामा रहेको ४० बेडको आइसोलेसनको परिसर व्यवस्थापनमा कमजोरी देखिएको पनि स्थानीयले गुनासो गरेका छन्।