लकडाउन खुकुलो बनाउने सरकारको निर्णय : मोटरसाइकलमा दुई जना यात्रा गर्न नपाइने, रेस्टुरेन्टबाट प्याकिङको सुविधा कार्यालय समय बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म, कर्मचारीलाई २ सिफ्टमा काम

काठमाडौं । सरकारले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिए । 
पत्रकार सम्मेलनमा अर्थ र सञ्चारमन्त्री समेत रहेका खतिवडाले  स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला गर्ने निर्णय भएको जानकारी दिए । जसमा निजी क्लिनिक समेत सञ्चालन हुनेछन् । 


यसैगरी सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ भने उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टर स्टोरहरु खुला गरिएको खतिवडाले बताए । तर सपिङ मल भने खोल्ने निर्णय भएको छैन । यस्तै सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ । 


यसैगरी व्यक्तिहरुको पैदल आवागमन खुला गरिएको छ । तर भिडभाड नगर्न र सुरक्षा अपनाउन सरकारले अनुरोध गरेको छ। 


यस्तै सरकारले साइकल र मोटरसाइकल चल्न दिने  निर्णय गरेको छ । तर, मोटरसाइकलमा दुई जना चढ्न रोक लगाएको छ । यस्तै काठमाडौं उपत्यका र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र जोरबिजोर प्रणालीमा सञ्चालन निजी सवारी साधन सञ्चालन गर्न पाइने छ । तर जोरबिजोरको आधारमा चल्ने सवारीसाधनमा चालकबाहेक थप २ जना मात्रै सवार हुन पाइने खतिवडाले बताए । 

यसैगरी सरकारले बैंक, बित्तीय संस्था र सहकारी पनि खुल्ला गर्ने सरकारी निर्णय छ । यस्तै नर्सरी र बनजन्य व्यवसाय,  विकास आयोजना, निजी क्षेबाट प्रवर्द्धित आयोजना पनि निर्वाध रुपमा सञ्चालित हुनेछन् भने नदीजन्य ढुवानी पनि खुला गरिएको छ।  

यसैगरी रेस्टुरेन्टको क्षेत्रमा प्याकिङको माध्यमबाट सेवा लिन सकिने भएको छ । अब कार्यालय बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म खुल्ने भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सबै सरकारी तथा गैरसरकारी संस्था, शिक्षण संस्था (पठनपाठन कार्य बाहेक), निजी तथा सार्वजनिक संस्थाहरु समेतका कार्यालयहरु २ सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता, अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । 


उनका अनुसार अब पहिलो सिफ्ट बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चल्नेछ भने अर्को सिफ्ट दिउँसो १ बजेदेखि बेलुकी ६ बजेसम्म चल्नेछ । यो निर्णयले आर्थिक वर्षको अन्त्यमा हुने कामको चापलाई व्यवस्थापन गर्न सहयोग पुग्ने समेत उनको भनाई थियो । -रासस /एजेन्सी