राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउँदै, दलहरुको विकल्प खोजेको भए खबरदार : दाहाल

काठमाडौं, । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन गर्वको विषय भएको भन्दै यसको अन्तिम निर्णयमा पुग्ने बेलासम्म सर्वसम्मति हुने विश्वास व्यक्त गरेका छन् ।

शनिबार प्रतिनिधिसभा बैठकमा संविधान संशोधन प्रस्तावको दफावार छलफलकाक्रममा बोल्दै उनले राष्ट्रिय एकताको भावनाले नै देशले सफलता हासिल गर्ने बताए ।

‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउँदैछ’ भन्दै अध्यक्ष दाहालले दलहरुको विकल्प कसैले खोजेको भए ‘खबरदार’ भने ।

उनले कालापानी र सुस्तालाई विवादित छ भन्ने जान्दा–जान्दै भारतले एकतर्फी नक्सा सार्वजनिक गर्नु र सडक बनाउनुले उसले विवाद निम्त्याएको बताए ।

भारतले नक्सा प्रकाशित गरेपछि आफूहरुको अगाडि सवाल खडा भएसँगै नेकपाको बैठकमा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नक्सा प्रकाशित गर्नुपर्छ भन्ने निर्णय गरिएकोपनि उनले बताए ।

नक्साको कुरा अहिलेमात्र उठेको नभइ पहिलेदेखि नै पार्टीमा उठेको उनले स्पस्ट पारे ।

सर्वदलीय बैठकमा पनि नक्सा जारी गर्नेसँगसँगै भारतसँग वार्ता गर्ने सम्बन्धमा निर्णय गरिएको भन्दै उनले भारतसँग वाता हुनेमा आफू विश्वस्त रहेको बताए ।

भारतसँग कुनै द्वन्द्व नचाहेको भन्दै उनले वार्ताबाटै सधैंका लागि समस्या समाधान गर्ने खोजीमा रहेको उल्लेख गरे ।

अध्यक्ष दाहालले ‘यस्तो परिस्थिति आउनुअघि नै समस्याको समस्या समाधान गर्न सकेको भए राम्रो हुन्थ्यो’–भने ।

उनले भारत र चीनसँग सुमधुर, मैत्रीसम्बन्ध कायम गर्न चाहेको पनि बताए ।इमेजले उल्लेख गरेको छ।