अविरल वर्षाका कारण अर्घाखाँचीको जनजीवन अस्तव्यस्त (भिडियो तस्बिर सहित)
आषाढ़ ६ गते, २०७७ मा प्रकाशित
बिष्णु कुमार आले / अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा शुक्रबार रातिदेखिको लगातार परेको अविरल वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको छ ।
अविरल वर्षाका कारण अर्घाखाँचीका विभिन्न स्थानमा पहिरो गएको छ। पहिरोले गोरूसिङ्गे–सन्धिखर्क सडकखण्डको सीतापुर राजुबास नजिकै नरपानी र जगतमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ। सन्धिखर्क क्षेत्रमा बाँगीखोला बढदै जाँदा छेउछाउका बस्ती जोखिममा परेका छन् ।
यस्तै पहिरोले जिल्लाभरका सडक अवरुद्ध भएका छन् । साथै जिल्लाभर विद्दुत सेवा अवरुद्ध भएको छ।
यस्तै उता शितगंगा ४ पोखडाँडा निवासी जोग बहादुर बेल्बासे (पान बहादुर बेल्बासे ) को घर पहिरोले पुरेको छ । घर माथीबाट एक्कासी पहिरो आएको देखेपछि घरमा बस्दै आएकी ६७ बर्षिय एक महिला भागेर ज्यान बचाउन सफल भएकी छन् ।
घरमा भएको लत्ताकपडा , अन्नपात, नगद जिन्सी सामाग्री पहिरोले घर पुरेपछि नष्ट भएको छ । सोहि ठाँउकै सालिकराम जिसीको घर पहिरोले पुरेपछी ज्यान जोगाउन जिसीको परिवार छिमेकीको घरमा सरेकाे स्थानिय बिजय आचार्यले जानकारी दिए । उता अमराई गोर्थुम निवासी दिपक बिकको घर पहिरोको उच्च जोखिममा परेको छ । जिल्लाको पाणिनी १ पणेना सिम्ले निवासी डोलराज गौतमको घर पनि पहिरोले परेको छ । घर माथी र घरको आगनबाट ठुलो पहिरो गएपछि गौतमको परिवार ज्यान जोगाउन अन्यत्र गएका छन् । उनिहरू छिमेकीको घरमा सहारा लिएर बसेका छन् ।
यस्तै सन्धिखर्कको नौलापानीमा निर्माण हुँदै गरेको पुल बर्षाका कारण क्षती भएको छ ।