२०७७ वैशाख २३, मंगलवार मा प्रकाशित
यूएई, दुबई (२०७७ वैशाख २३, मंगलवार)- यूएईको दुबईमा कार्यरत अर्घाखाँची जिल्लाकाे भुमिकास्थान नगरपालिका वार्ड नं ८ नुवाकोट च्युरामाटी नयाँ घरका युवराज गैरेको ज्यान गएको छ ।
उहाँ कार्यरत कम्पनीले जनाए अनुसार गैरे वैशाख ५ गते अस्पताल भर्ना हुनुभएको थियो ।
दुबईमा १५ वर्षदेखि कार्यरत ४७ वर्षीय गैरेको बैशाख २१ गतेका दिन कोरोनाको कारण ज्यान गएको हो ।
स्वास फेर्न गाह्राे हुने तथा ज्वरो आउने समस्या बढेपछि उहाँलाई सँगै बस्ने छिमेकीले अस्पताल पुर्याएका थिए । सुरुमा निमोनियाका कारण बिरामी भएको भन्दै अस्तर मेडिकलले उहाँलाई निमोनियाको औषधि दिएको थियो । धेरै असजिलो भएपछि दुबईको रशिद अस्पताल पुर्याइएको उहाँका सहकर्मीहरुको भनाइ छ ।
गैरेलाई भेण्टिलेटरमा राखेर उपचार गराइएकोमा बैशाख २१ गते आइतबार साँझ ज्यान गएको दूतावास स्रोतले जनाएको छ ।
सुरुमा निमोनिया देखिएर अस्पताल भर्ना भएका उनको कोरोना भाइरसको कारण ज्यान गएको अस्पताललाई उद्धृत गर्दै परराष्ट्र सेवा कन्सुलर सेवाले परिवारलाई जानकारी दिएको छ ।
योसँगै यूएईमा एक हप्ताभित्र अर्घाखाँचीका दुई जनाको ज्यान गएको छ । यसअघि आबुधावीमा कार्यरत सन्धिखर्क ६ जगताका सुशील भट्टराईको ज्यान गएको थियो । भट्टराईको ज्यान जानुको कारणबारे अनुसन्धान भैरहेको कम्पनीले जनाएको छ ।
केही समाचार उज्यालो अन्लाईनबाट लिएको हो ।