सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा पछिल्लो समय चर्चा कमाएको एउटा फेसबुकको घटना कानुनी प्रक्रियामा अगाडि बढेको छ । सन्धिखर्क नगरपालिका–२ चुत्रावेसी बजारनिवासी सहयोगी विसीले वडा नं. ८ निवासी राधा पाण्डेलाई फेसबुक म्यासेजबाट शारीरिक सम्बन्धको प्रस्ताव राखेका थिए । उनको प्रस्तावलाई अस्वीकार गरेकी विवाहिता पाण्डेले म्यासेजमा गरिएको कुराकानी फेसबुकमा पोष्ट गर्दिएपछि त्यसलाई अर्घाखाँची काण्ड नामाकारण गरिएको हो ।
यसरी फेसबुकमा पोष्ट गरेको करिव तीन घण्टापछि सम्बन्धित महिलाले आफ्नो पोष्ट हटाए पनि स्वदेश तथा विदेशमा रहेकाहरूले उक्त घटनालाई बुलन्द बनाउँदा दुवै जना चर्चामा आएका हुन । घटनालाई एकाएक सामाजिक सन्जालबाट प्रचारप्रसार गरिँदै गर्दा नेपाली काङ्ग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानसहित विभिन्न जिम्मेवारीमा जोडिएका व्यक्तिहरूले आफूलाई डरधम्की दिएर केस मिलाउन दबाब दिएको र प्रहरी प्रशासनले आफ्नो उजुरी निवेदन दर्ता नगरेको पीडित भनिएकी महिलाको आरोप रहेको छ ।
यसै विषयसँग केन्द्रित भई नेपाली कांग्रेस जिल्ला सभापति मुस्कानसँग जिज्ञासा राख्दा पीडित महिलाको अभिभावकले ‘सभापतिज्यू, यो घटना हत्या, बलात्कार वा जबर्जस्ती करणी नभई अश्लील शव्दहरूको प्रयोग भएको कारण दुवै पक्षलाई जम्मा गरी दोषीलाई माफी मगाएर केस मिलाइदिनु पर्यो भनेपछि आफुले त्यसैअनुसार पहलकदमी चालिदिएको बताएका छन् । कुराकानीको क्रममा आफुसँग राजनैतिक संस्कार भएको कारण कसैको इच्छाविपरीत डर धम्की दिने कार्य आफूबाट हुनै नसक्ने सभापति मुस्कानले जिकिर गरेका छन् ।
यस्तै, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीसँग ‘तपाईंहरूले किन पीडित महिलाको केस दर्ता नगर्नुभएको ?’ भन्ने जिज्ञासा राख्दा प्रनाउ बुढाथोकीले ‘केसको प्रकृतिअनुसार प्रहरीले हेर्ने भनेको साइबरसम्बन्धी मुद्धा भएको र सोअनुसारको निवेदन प्राप्तिका लागि आफुहरू ब्यग्र प्रतीक्षामा रहेको’ बताए । पीडित भनिएकी राधा पाण्डेलाई आफूले सम्पर्क गरेको र उनी यो विषयमा प्रवेश गर्न नचाहेको समेत प्रनाउ बुढाथोकीले जानकारी गराएका छन् ।
त्यसपश्चात विभिन्न मिडिया तथा सामाजिक सन्जालमा चर्चित बनेका उनीहरूका बारेमा सरोकार पक्षसँग घनीभुत छलफल गरी धार्मिक व्यक्तित्व नारायणप्रसाद खनाल, हिन्दु जागरण स्वयंसेवकका करिव एक दर्जन धार्मिक युवाहरू, वरिष्ठ अधिवक्ताहरू, महिलाका नाता तथा शुभचिन्तकसहित समाजका हर्ताकर्ता व्यक्तिहरूको रोहवरमा दुवै पक्षलाई एकै स्थानमा जम्मा गरी क्षतिपूर्तिसहितको कानुनी सजाय हुनुपर्ने निश्कर्षसहित सबैको साथ र सहयोगमा पीडित भनिएकी महिलाले अर्घाखाँची जिल्ला अदालतमा आफ्नो उजुरी निवेदन पछिल्लो समय विधिवत दर्ता गरेको यर्थार्थ सबैको सामु छर्लङ्ग रहेको छ ।
आपसी मनमुटावलाई कानुनसमक्ष लैजानुको साटो पीडित भनिएकी पाण्डेले केही घण्टा सामाजिक सन्जालमा पोष्ट गर्दिनाले नेपाल पत्रकार महासंघको जिल्ला उपाध्यक्ष, नेपाल लोकदोहोरी प्रतिष्ठानको जिल्ला अध्यक्षलगायतका जिम्मेवारी निर्वाह गरिसकेका विसी यतिबेला आफ्नो घरपरिवार र समाजसामु लज्जित बन्नु परेको चर्चा छ ।
आफूले जीवनमा पहिलोपटक छोरीसमान सम्झिएको महिलाप्रति दुर्भाग्यले ‘शब्द’बाट गल्ती गरेको र सोवापत आफू सार्वजनिक स्थानमा फासीको सजायसमेत स्वीकार गर्न तयार रहेको बताउँदै हिँडेका बिसीले केही वर्ष कारागार जीवन बिताएछन् भने पनि उनले हाल प्राप्त गरेको सामाजिक अपमान जीवनभर मेटिने देखिँदैन । उता शब्दद्धारा चरित्र हत्या भएको बताएकी राधाले बुद्धिमतापूर्वक कानुनी प्रक्रियामा जानुपूर्व आवेशमा आई फेसबुकमा पोष्ट नगरेको भए आरोपितले एउटा मात्रै सजाय भोग्ने थिए भन्नेहरु पनि कम छैनन् । सञ्चारकर्मीको समेत अनुभव बटुलेकी राधालाई शब्दबाट शारिरिक सम्बन्धको लागि प्रस्ताव राखेका विसीले न्यायालयबाट थप सजाय पाउने हुन् वा क्षमादान भन्ने जिज्ञासा मेटाउन अब केही समय प्रतीक्षा गर्नैपर्ने भएको छ ।