अर्घाखाँचीमा सलह किराले मकै तथा तरकारीमा पाँच करोडको क्षति गर्यो
आषाढ़ २० गते, २०७७ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
जलुके, अर्घाखाँची । अर्घाखाँची जिल्लामा दश हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै बाली सलह किराले नष्ट गरेको छ । छ दिनयतादेखि सलहले खेतबारी नछाडेपछि स्थानीयवासी हैरान भएका छन् ।
उता प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार जिल्लाका केही भागमा सलह नियन्त्रणमा आए पनि शितगंगा नगरपालिका नियन्त्रणमा आउन सकेको छैन ।
वडा नम्बर ७ का जलुके, जुवाकोट लगायत क्षेत्रमा नौ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै पूर्ण रुपमा नष्ट भएको वडाध्यक्ष मोहन पन्थीले जानकारी दिनुभयो ।
जिल्लाका सबै क्षेत्रमा गरी १० हजार रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै पूूर्णरुपमा र केही भागमा आंशिक क्षति पुग्दा करीब रु पाँच करोड नोक्सान भएको जनाइएको छ । । शितगंगा १० सिद्धाराको दुम्सीलगायत क्षेत्रमा पनि सलहले मकै बाली पूूर्णरुपमा नष्ट गरेको वडाध्यक्ष हिम्मत पोख्रेलले बताउनुभयो ।
सन्धिखर्क र भूमिकास्थान नगरपालिका तथा छत्रदेव, मालारानी र पाणिनी गाउँपालिका सबैतिर सलहले क्षति पु-याएको कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक निमबहादुर आचार्यले जानकारी दिनुभयो ।