अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा मास्क नलगाई हिँड्ने १३ जनालाई प्रहरीले पक्राउ गरी कारबाही गरेको छ । अर्घाखाँचीका विभिन्न स्थानबाट गत असार २२ गतेदेखि आज शनिबारसम्म ९ पुरुष र ४ महिला पक्राउ परेका हुन् ।
मास्क नलगाई हिँड्ने व्यक्तिलाई सम्झाईबुझाई गर्दा अटेर गरेपछि पक्राउ गरेको प्रहरीले बताएको छ ।
पक्राउ परेकालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जिल्ला प्रशासन कार्यालयले १ सय रुपैयाँ जरिवाना तिराएर छाडेको छ ।
अनिवार्य रुपमा मास्कको प्रयोग नगर्ने, न्यूनतम सामाजिक दूरी कायम नगर्ने र अनावश्यक जमघट गर्नेलाई उक्त ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ । असार २२ देखि मास्क नलगाउनेलाई प्रहरीले पक्राउ गर्न थालेको हो ।