काठमाडौं उपत्यकामा जोर विजोर प्रणाली लागु भएसँगै सवारी चाप कम

कोरोना संक्रमणको दर बढ्न थालेपछि सरकारले लागु गरेको जोर विजोर प्रणालीका कारण शनिबार उपत्यकामा सवारी चाप कम देखिएको छ । 
जोर विजोर प्रणालीमा सवारी सञ्चालन, संक्रमणको जोखिम बढ्नु र अत्यावश्यक बाहेकका सेवाहरु बन्द भएका कारण सवारीको चाप कम देखिएको हो ।
पछिल्लो केही दिनयता उपत्यकामा संक्रमणको दर बढ्न थालेपछि सरकारले सवारी सञ्चालनमा जोर विजोर प्रणाली सुरु गरेको थियो । 
उपत्यकाभित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले शुक्रबार बैठक गरी अत्यावश्यक बाहेकका सेवाहरु तत्कालका लागि बन्द गर्ने निर्णय गरेका थिए । जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता वितरण, हातहतियार दर्ता नविकरण, संस्था दर्ता नविकरण, निजी सुरक्षा कम्पनी नविकरण, राहदानी वितरण र नाबालिग परिचयपत्र वितरणलगायतका सेवाहरु तत्कालका लागि बन्द भएका छन् । 
प्रशासन कार्यालयहरुले अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीहरुलाई अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न पनि आग्रह गरेको छ । शुक्रबार नै उपत्यकामा अहिलेसम्मकै बढी एक सय २४ जनामा कोरोना भाइरस पुष्टि भएको थियो ।
असार २६ गतेबाट उपत्यकालगायत देशभरी जिल्लाभित्र मात्रै सवारी सञ्चालन गर्ने निर्णय सरकारले गरेको थियो । सरकारले आवश्यक मापदण्ड पुरा गरी सवारी सञ्चालन गर्न निर्देशन दिए पनि अधिकांश सार्वजनिक सवारी साधनले सेनिटाइजर प्रयोग नगरेको पाइएको छ ।
मास्क प्रयोग गरेको भएपनि सेनिटाइजरको प्रयोग नगर्ने र बसमा दुरी कायम नगरिकन यात्रुलाई राख्ने गरेको पाइएको छ । नयाँपत्रीकामा समाचार छ ।