राजधानी काठमाडौंमा एक साताका लागि निषेधाज्ञा

 कोरोना संक्रमितहरूको संख्या बढ्न थालेपछि जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले राजधानी काठमाडौंमा एक साताका लागि निषेधाज्ञा जारी गर्नुपर्ने निष्कर्ष निकालेको छ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरू सम्मिलित बैठकले यस्तो निष्कर्ष निकालेको हो। तर, यसको औपचारिक निर्णय भने केन्द्रस्तरीय सिसिएमसीको सिफारिसमा सरकारले मात्र गर्न सक्ने छ।
बैठकमा सहभागी महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले कम्तिमा एक साताका लागि काठमाडौंमा निषेधाज्ञा लगाउन सकिने राय सबै पक्षबाट पेश भएपछि यस्तो निष्कर्ष निकालिएको बताए।
‘निषेधाज्ञा गर्नुपर्ने राय पेश भएको छ, जिल्लास्तरीय सुरक्षा समितिको निष्कर्षका आधारमा बाँकी निर्णय सरकारबाट के हुन्छ, आउन बाँकी छ,’ उनले भने।
काठमाडौं प्रशासनका प्रवक्ता तुल्सीराम पौडेलले पनि बैठकले एक साता अत्यावश्यक सवारीसाधन, खाद्यान्न र औषधिजन्य पसलबाहेक अन्य सबैथोक बन्द गर्ने गरी निषेधाज्ञा जारी गर्नुपर्ने विषयमा छलफल भएको बताए।
यस्तै, बैठकले १० हजार संख्यामा आइसोलेसन बेड विस्तार गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ। संक्रमित संख्या घर-घरबाट निकालेर आइसोलेसनमा राख्नुपर्ने भएकाले सो संख्यामा आइसोलेसन विस्तार गर्न माग गरिएको हो।
यो आइसोलेसन विस्तारका लागि काठमाडौंमा रहेका मेडिकल कलेजलाई उपयोग गर्न सकिने निर्णय भएको पौडेलले बताए। यस्तै, काठमाडौं महानगरमा कम्तिमा १५ वटा कोभिड एम्बुलेन्स बढाउन माग गर्ने निर्णय भएको छ। हाल काठमाडौं महानगरमा कोभिडका लागि पाँच वटा एम्बुलेन्स छन्।
यस्तै, अन्य नगरपालिकाका लागि दुई दुई वटा कोभिड एम्बुलेन्स चाहिने भएकाले माग गरिएको पौडेलले बताए। यसैगरी, क्वारेन्टिन विस्तार नहुन्जेल विदेशबाट हुने चार्टर्ड उडान नगर्न सरकारसँग माग गरिएको छ।
सोमबार नै पर्यटन मन्त्रालयले चार्टर्ड उडान रोक्न केन्द्रस्तरीय सिसिएमसीलाई अनुरोध गरिसकेको थियो।
त्यस्तै, क्वारेन्टाइनहरूको मापदण्ड पूरा गर्ने, संक्रमित स्वास्थ्यकर्मीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने, यस्तो कार्यमा बाधा पुर्‍याउनेलाई संक्रामक रोग नियन्त्रण ऐनअनुसार कारबाही गर्ने, समुदायस्तरमा संक्रमित बढिरहेकाले हरेक स्थानीय निकायमा कोभिड अस्पताल निर्माण गर्न माग गरिएको पौडेलले बताए। सेतोपाटीमा समाचार छ ।