अर्घाखाँचीमा अर्को हप्ताको विहिबार विश्वकर्मा पुजाको दिनदेखि जिल्ला भित्र-बाहिर सबै सार्वजनिक सवारी साधन चल्ने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अर्को हप्ताको विहिबार अर्थात आगामी असोज १ गतेदेखि यातायात व्यवसायीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन्। सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात संचालनलाई निषेध गरेका बेला व्यवसायीले यस्तो घोषणा गरेका हुन्।
पश्चिम नेपाल बस व्यवसायी संघ, देउराली यातायात लगायत संघसंस्थाले  जानकारी गराए अनुसार विश्वकर्मा पुजाको दिन पारेर अर्को हप्ताको विहिबार अर्थात आगामी असोज १ गतेदेखि जिल्ला भित्र र बाहिर सबै सार्वजनिक सवारी साधन सञ्चालन गरिने भएका हुन् । 
उता काठमाडौंमा पनि बुधबार यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको संयूक्त बैठकमा व्यवसायी र मजदुर संगठनले यातायात खुलाउन सहजीकरण नगरे असोज १ देखि लामो तथा छोटो दुरीका यातायात चलाउने घोषणा गरेका छन्।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका भिमज्वाला राईले सरकारलाई सार्वजनिक सवारी संचालनका लागि विकल्प दिन भनिएको बताए।
सरकारले यातायात संचालनका लागि सहजीकरण नगरे आफूहरुले यातायात चलाउने जानकारी विभागलाई गराइएको उनले बताए। ‘यतिञ्जेल हामीले जसोतसो धान्यौं, अब सकिँदैन’ उनले भने।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले यो निर्णय आफूहरुले गरेर नभई मन्त्रिपरिषदबाटै हुनुपर्ने बताए। कोरोना संक्रमण कम भएका ठाउँमा यातायात चलाउन सकिने सुझाव आफूहरुले दिएको उनले बताए।

अन्य समाचारहरु