भ्रम र वास्तविकता | मसाल विरुद्ध सन्तबहादुर नेपालीको भ्रमको खेती जारी

मनोज भट्ट
नेकपा (मसाल) का विरुद्ध का. सन्तबहादुर नेपालीको भ्रमको खेती जारी नै छ । भ्रमको खेती गर्ने सिलसिलामा यही भाद्र २७ गते प्रकाशित एउटा लेखमार्फत उहाँले भ्रमित पार्न खोजेका कतिपय विषयमा स्पष्ट पार्ने प्रयत्न गरिने छ ।
निश्चित रूपले अहिले पार्टीले आन्तरिक शुद्धीकरण अभियान चलाएको छ । तर यो शुद्धीकरण अभियानको कार्यक्रम फरक विचार राख्नेहरूलाई पार्टीबाट सफाया गर्ने उद्देश्यले सञ्चालन गरिएको छैन । त्यसरी गर्न पनि मिल्दैन । पार्टीमा देखा परेको अनुशासनविहीनता, निष्क्रियता, स्वार्थपरायणतालाई सुधार गरेर मात्र आठौँ महाधिवेशन गर्ने उद्देश्यले शुद्धीकरण कार्यक्रम सञ्चालन गर्न खोजिएको थियो । तर विविध कारणले महाधिवेशनभन्दा अगाडि त्यो सम्भव हुन सकेन । यद्यपि शुद्धीकरणको आवश्यकता पहिलेको भन्दा झन बढेर गएको छ ।
२०७१ सालदेखि थाती रहेको काम अहिले अगाडि बढाउन खोजिएको छ । तर शुद्धीकरण कार्यक्रमप्रति भ्रम सृजना गर्न र पार्टीपङ्क्तिलाई आतङ्कित बनाउनका लागि का. सन्तबहादुर नेपाली आफ्नो लेखमा पूरा शक्ति लगाउनुभएको छ । लेखमा भाद्र ११ गते पार्टी महामन्त्रीद्वारा जारी वक्तब्यको सम्पूर्ण पाठमध्येको एउटा वाक्यलाई टप्पक टिपेर अगाडि सारेर यो प्रमाणित गर्न खोजिएको छ कि अब मसालभित्र घुसपैठियाको आरोप लगाएर हिजो अल्पमतको पक्षमा रहेकालाई सफाया गरिने छ । आफ्ना मनको आग्रहलाई प्रमाणित गर्नका लागि उहाँले अनाएको शैली हेर्दा दया लागेर आयो । महाधिवेशनपछि अब पार्टीभित्र अल्पमत बहुमत भन्ने कुरा रहेन ।
फरक पार्टीको आलोचना गर्न पाउने जोसुकैलाई अधिकार हुन्छ । तर त्यसरी गरिने आलोचना पनि तथ्यमाथि आधारित हुनुपर्दछ । पार्टीले हिजोको दिनमा फरक विचारको पक्षमा रहेका कुनै पनि कामरेडहरूलाई घुसपैठियाको आरोप लगाएको छैन । यहाँसम्म कि जान वा अन्जानमा कसैबाट त्यस प्रकारको गतिविधिमा सहयोग पुगेको छ भने पनि त्यसतालाई समेत घुसपैठिया भनेको छैन । अटुट रूपले पार्टीका गोपनियता र सर्कुलर निश्चित उद्देश्यअन्तर्गत सार्वजनिक गर्ने तत्त्त्वलाई नै पार्टीले घुसपैठिया र दुस्मनका एजेन्ट भनेको छ । तर लगातार पार्टीको गोपनियता र सर्कुलर सार्वजनिक गर्ने अवान्छित तत्त्वलाई सन्तबहादुरले “वामपन्थी कामरेड” देख्नुहुन्छ । ती घुसपैठिया वा “वामपन्थी कामरेड” सँग सहकार्य गरेर मसाललाई ध्वस्त पार्ने अभियानमा लाग्नुभएको छ । ती घुसपैठियालाई नियन्त्रण गरिने छ भनेर पार्टी महामन्त्रीबाट वक्तब्य आउँदा उहाँ दुखी हँुदैै “यो गौरव कुरा होइन” भन्नु हुन्छ । पार्टी गोपनियता सार्वजनिक गरेका कारण लेनिनले कामेनेभ र जिनोबियेभलेलाई गद्दार र विश्वासघातीको सङ्ज्ञा दिएका थिए । शायद यिनीहरू पनि उहाँको विचारमा “वामपन्थी कामरेड” नै होलान्, होइन त ?
घुसपैठियाको सञ्जाल बनाएर, छद्म रूपमा तथा खुल्ला रूपमा पार्टीमाथि हमला गर्नेहरूले लगातार यो आरोप लगाइरहेका छन् कि अल्पमतको पक्षमा लागेका कारण मतको आधारमा कारबाही हुने गरेको छ । पार्टी विधानले सदस्यको आस्था वा मत चिन्दैन । पार्टीसदस्यले गर्ने गल्ती–कमजोरीको आधारमा निजलाई कारबाही हुने गरेको वा भएको छ । उदाहरणका लागि पार्टीको पत्रिका कानुनको त्यान्द्रो समातेर कब्जा गर्ने काम भयो ।
पत्रिका पार्टीको सम्पत्ति हो । त्यसमा पार्टीले श्रम, सिप, पसिना तथा पत्रिकालाई स्थायित्व दिन आर्थिक लगानीसमेत गर्दै आएको सम्पूर्ण पार्टीपङ्क्तिलाई थाहा छ । पत्रिकालाई कब्जा गरेपछि पार्टीले पत्रिकालाई बन्द गर्ने र त्यसमा आफ्ना सदस्यहरू कुनै पनि प्रकारले संलग्न नहुने निर्णय गर्नु स्वाभाविकै थियो । पार्टीले गरेको निर्णयलाई सबैले पालना गरेर त्यसबारे भएका आफ्ना मतभेद पार्टीभित्र सञ्चालन गर्नुपर्दथ्यो । तर का. सन्तबहादुरले पार्टी निर्णयका विरुद्ध पत्रिकाको सञ्चालक समितिको अध्यक्ष हुनुभयो । अध्यक्षबाट हट्न पार्टीले दिएको निर्देशनलाई अवज्ञा गर्नुभयो । उचित सफाइको मौका दिएर र आफनो निर्णय पुनर्विचार गर्न पार्टीले गरेको आग्रहलाई अस्वीकार गरेपछि मात्र पार्टी कारबाही गर्ने दुखद निणर्यमा पुग्नुपरेको हो । उहाँमाथि कारवाहीको आधार मत हो वा पार्टी निर्णयको अवज्ञा हो ? निश्चित रूपले पार्टी निर्णयको उल्लङ्घन गरेका कारण दुखद निर्णय लिनुपरेको हो । यदि बहुमत पक्षका कामरेडहरूले पनि यस प्रकारको गल्तीमा सामेल भएर पनि यदि मतको आधारमा कारबाही नगरेर पक्षपात गरिएको छ भने सन्तबहादुरलगायतकाले उठाएको कुरालाई जायज मान्न सकिन्थ्यो । स्थिति त्यस्तो पनि छैन ।
सन्तबहादुरजीले “जसको नीति उसको नेतृत्व” लाई सैद्धान्तिक दृष्टिकोणबाट गलत बताउनुहुन्छ । अझ यो विश्वव्यापी परम्परा नभएको दाबी गर्न पनि पछाडि पर्नु भएको छैन । त्यति मात्र नभएर सोझा कार्यकर्तालाई “उल्लु” बनाउने कार्य हो भन्नसम्म भ्याउनुभएको छ । त्यो कुरा पुष्टि गर्नका लागि पाँचौँ महाधिवेशनमा रणबहादुर र मोहनविक्रमले प्रस्तुत गरेका दस्तावेज पारित भए तर किरण नेतृत्वमा चुनिएको उदाहरण दिएर आफनो भनाइको वजन बढाउने प्रयत्न गर्नुभएको छ । तर त्यो उदाहरण दिँदा का. मोहन वैद्य कसरी निर्वाचित हुनुभएको हो ? नीतिअनुरूपको नेतृत्व र केन्द्रीय समितिमा बहुमत नहुँदा त्यसको परिणाम के भयो ? सबैअगाडि झर्लङ्ग छ । दोश्रो महाधिवेशनले गणतन्त्रको लाइन पारित गरेको थियो । तर नेतृत्व राजावादी चयन भएका कारण केशरजङ्ग रायमाझीले कम्युनिस्ट पार्टीलाई दरबारमा पुर्याएको इतिहास सबैको अगाडि छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको पाँचौँ महाधिवेशनले छनतुस्यूको आत्मसमर्णवादी कार्यदिशाको आलोचना गरे पनि छनतुस्यू नै नेतृत्वमा निर्वाचित भएका कारण पार्टी त्यो समस्याबाट मुक्त हुन सकेन, जसको परिणाम सन १९२९ मा छनतुस्यूलाई पार्टीबाट निस्कासन गर्नुप-यो । २६ जुलाईदेखि अगस्त ३, १९१७ मा बोल्सेभिक कम्युनिस्ट पार्टीको छैटौँ महाधिवेशनले सशस्त्र विद्रोहको कार्यनीति पारित गरेको थियो । तर नेतृत्वमा लेनिनको नभएर ट्राटस्कीपन्थीहरूको बहुमत भएकोे भए सशस्त्र विद्रोहको कार्यनीति कार्यान्वयन हुँदैन्थ्यो ।