अन्तत अर्घाखाँचीमा आउने सोमबार असोज ५ गतेदेखि जिल्ला भित्र-बाहिर सबै सवारी साधन चल्ने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्ला भित्र र बाहिर लामो दूरीको यातायातहरु आगामी असोज ५ गतेदेखि संचालनमा आउने भएका छन् । 
अर्घाखाँचीका यातायात व्यवसायीहरुले जिल्ला भित्र र बाहिर लामो दूरीको यातायातहरु आगामी असोज ५ गते सोमबारदेखि संचालन गर्ने भएका हुन् । 
यसअघि यातायात व्यवसायीहरुले अर्घाखाँची जिल्लामा यही हप्ताको विहिबार अर्थात आगामी असोज १ गतेदेखि यातायात व्यवसायीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने तयारी गरेका थिए ।  
पश्चिम नेपाल बस व्यवसायी संघ, देउराली यातायात लगायत संघसंस्थाले  जानकारी गराए अनुसार विश्वकर्मा पुजाको दिनको सट्टा अर्को हप्ताको सोमबार अर्थात आगामी असोज ५ गतेदेखि जिल्ला भित्र र बाहिर सबै सार्वजनिक सवारी साधन सञ्चालन गरिने भएका हुन् ।
उता यसअघि काठमाडौंमा पनि यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको संयूक्त बैठकमा व्यवसायी र मजदुर संगठनले यातायात खुलाउन सहजीकरण नगरे असोज १ देखि लामो तथा छोटो दुरीका यातायात चलाउने घोषणा गरेका थिए । 
यस्तै सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले गत चैत महिनादेखि कोरोना महामारीका कारण रोक लगाउँदै आएको लामो दूरी र आन्तरिक उडान खुला गर्ने निर्णय गरेको छ ।  यसअघि भदौ २५ गतेदेखि छोटो दूरीको यातायात जोर बिजोर प्रणालीअनुसार खुला गरेको थियो।
सरकारले चैत ११ गतेदेखि कोरोना भाइरसको रोकथामका लागि लक डाउन गर्दा सार्वजनिक यातायात प्रभावित भएको थियो।