दसैँको मुखमा पनि खुलेन विगत तीन महिनादेखि अवरुद्ध रहेको बाजुरा जाने सडक

बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी सडकमा खसेको पहिरो।
धनगढी – विगत तीन महिनादेखि अवरुद्ध रहेको बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी सडक दसैँ सुरु हुन अब १७ दिन मात्रै बाँकी रहँदा पनि खुल्ने कुनै सुरसार छैन।
सडकका विभिन्न ठाँउमा गएका पहिरो र पुल बगाएपछि गत असारदेखि अवरुद्ध बनेको साँफे-मार्तडी सडक अहिले पनि बन्द नै रहेको छ।
वर्षा रोकिएसँगै सडक विभागले सडक खुलाउन प्रयास गरेको भए पनि अझै सुचारु हुन नसकेको हो। सडक सञ्चालनमा नहुँदा यातायातका साधन तथा स्थानीयलाई समेत आवतजावत गर्न समस्या भएको छ ।
ढुवानी ठप्प हुँदा सदरमुकाम मार्तडी लगायत उत्तरी क्षेत्रमा चरम खाद्य संकट भएको छ । दैनिक उपभोग्य सामानको मूल्य पनि आकाशिएको छ।
सडक खण्डको बुढीगंगा नगरपालिका १ बल्देदेखि द्धारीसम्म डोजरले सडक खोल्दै गरे पनि पछाडिबाट फेरि भत्किरहेको सडक विभागका इन्जिनियर दमन बिष्टले वताए ।
‘एक चरणमा सामान्य ट्रयाक खोलेका थियाैँ, फेरि पहिरो आएर सडक भत्किरहेको छ’ बिष्टले भने– ‘तीन ठाँउमा दलदल जमिन रहेकाले माथिबाट पहिरो आइरहेको छ, सडक खुलाउन निकै समस्या भएको छ।’
गत असारमा लगातारको वर्षासँगै पहिरो खसेपछि साँफे मार्तडी सडक अवरुद्ध छ । बाढीले बुढीगंगामा बेलिब्रिज र ताप्रिसेरामा पक्की पुल बगाएको छ।
‘पहिराले बुढीगंगा नगरपालिका १ अम्कोटमा सडक नै तहसनहस हुने गरी बिगारेको छ’ बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले भने– ‘अन्य ठाँउमा सडक खुलाएको भए पनि बुढीगंगाको बल्दे देखि द्धारीसम्म करिब २ किलोमिटर सडक खोल्न निकै समस्या भएको छ ।’
उनले लागातार काम भइरहेकोले दसैँसम्म सडक खुलाउन सकिनेमा आशावादी रहेको बताए। प्रजिअ गैरेले बुढीगंगा नदीमा बेलिब्रिजको लागि पनि पहल भइरहेको जानकारी दिए । देशसन्चारमा समाचार छ।