प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची २७ आश्विन । लुम्बिनी प्रदेश सांसद चेतनारायण आचार्यले राप्ती उपत्यकामा शितगंगा नगरपालिका वार्ड नम्बर ८ र ९ पनि पर्ने भएकाले शंका नगर्न आग्रह गर्नु भएको छ ।
राजपत्रमा प्रकाशित कुरालाई लिएर अनेक टिप्पणी भईरहेको भन्दै उहाँले प्रदेश राजधानी बन्ने भएपछि कर्णलीको रुपमा चिनिने दक्षिणखाँचीमा बिकासको ढोका खोलिएको बताउनु भयो ।
अर्घाखाँची चेम्बर अफ कमर्सले जिल्ला प्रसासन कार्यालय परिसरमा गरेको सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद आचार्यले भौगोलिक विकटता लगायतका कारणले एकिकृत विकास योजना सम्भव नभएका बेला प्रदेश राजधानी आएपछी अब विकासको ढोका खोलिएको बताउनु भयो । देशकै ठुलो नगरपालिका शितगंगा नगरपालिका विकासमा पछी परेको भन्दै सांसद आचार्यले शितगंगा नगरपालिकाका दुई वटा वडा समेटिनुले विकासको ढोका खुलेको तर्क गर्नुभयो ।
भौगोलिक विकटताका कारण विकासमा पछी परेको शितगंगा नगरपालिका सहित समग्र जिल्लाको विकासमा आफुहरुले पहल गरिरहेको पनी उहाँको भनाई छ । ठुलो मेहनतले अर्घाखाँचीका दुई वटा वडा राजधानीमा समावेश गर्न सफल भएको भन्दै उहाँले अब विकास निर्माणमा पनी अग्रगामी छलाङ्ग मार्ने बताउनु भयो ।
शितगंगा नगरपालिका वडा नम्बर ११ र १२ मा ठुलो विपत्ती आईलागेको भन्दै त्यहाँका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहल भईरहेको बताउनु भयो । प्रदेशका मुख्यमन्त्री लगायत भुमिसुधार मन्त्रालयमा गएर आफुले कुरा राखेको बताउदै विपत्तीमा आफुहरुको साथ र सहयोग सदैव रहने पनी बताउनु भयो ।