अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना महामारीको जोखिमले यस वर्ष हिन्दूहरुको दोस्रो महान चाड बडा दिपावली तिहार पर्सीबाट शुरु हुँदै छ । पर्सी काग तिहार तर तिहार लागि घर जाने यात्रुहरूको कमीका कारण सन्धिखर्क बसपार्कहरू गत वर्षभन्दा कम चहलपहल छ ।
विगतमा तिहार शुरू नहुँदै सन्धिखर्क बसपार्कमा चहलपहल शुरू भइसक्थ्यो। तर, यसवर्ष बसपार्क क्षेत्र सुनसान छ। यस्तै काठमाडौं, बुटवलमा पनि जिल्लाबासी घर आउने नाउने निस्चित गरेका छैनन् ।
यात्रुहरू तिहारका लागि भन्दा पनि काम विशेषले मात्रै बाध्यताले यात्रा गर्नुपरेको बताउँछन्। गोरुसिङे, काठमाडौं, बुटवल बसपार्कमा पनि यात्रुहरूको चाप देखिदैन ।
देउसी भैलो खेल्न निषेध
उता जिल्लामा तिहार, छठ, कार्तिक शुक्ल पूर्णिमा लगायतका चाडवाडहरु शान्तिपुर्ण तरिकाले घरमै मनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार भिडभाडले कोरोना महामारीको अवस्था झन बिग्रीन सक्ने भन्दै जिल्लावासीलाई संयमित रहि पर्व मनाउन अनुरोध गरेको हो ।
यस्तै जिल्लाभर देउसी भैलो खेल्न निषेध गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार तिहार र छठमा पटाका, विस्फोटक पदार्थ तथा प्रज्जवलनशिल पदार्थको प्रयोगलाई निषेध गरिएको छ । दिपावलीमा दिप, लाईटर, सलाई जस्ता आगो जन्य वस्तु बालबालिकाबाट टाढा राख्न समेत अनुरोध गरिएको छ ।
यस्तै जिल्लामा मादक पदार्थको अवैध कारोबार, जुवातास माथि प्रतिबन्ध लगाईएको छ । बालबालिकालाई सवारी चलाउन नदिन साथै लाईसेन्स भएकहरुलाई समेत ट्राफिक नियमको पालना गरी गाडी चलाउन जिल्लाका सुरक्षा निकायहरुलाई निर्देशन दिईएको छ ।
सर्वसाधारणलाई सुरक्षासंग सम्बन्धित कुनै जानकारी भएमा जिल्ला प्रहरीको फोन ०७७-४२०२९९ / ९८५७००५५५५ वा सशस्त्र प्रहरीको मो. न. ९८५१२७२०५७ / ९८५१२७२५३८ मा सम्पर्क गर्न भनिएको छ ।