अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा ट्राफिक प्रहरीले सार्वजनिक यातायातका साधनमा भाडा सूची अनिवार्य गर्दै स्टिकर टाँस शुरु गरेको छ।
प्रहरीले आज शनिबार यात्रुबहाक सार्बजनिक सवारी साधनहरुमा यात्रुहरुले स्पष्ट देख्ने गरी भाडादररेट टाँस गर्नुको साथै तालुक लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटबलबाट प्राप्त बिभिन्न किसिमका ट्राफिक जनचेतनामुलक सन्देशहरु लेखिएका स्टिकरहरु टाँस गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले एक सुचना जारी गर्दै जिल्लामा प्रत्येक सार्वजनिक यातायातका साधनमा भाडा सूची अनिवार्य गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जिल्ला भित्र र बाहिर चल्ने देउराली यातायात, लका यातायात, पश्चिम नेपाल बस व्यवसयी प्राली र ट्याक्सी व्यवयासीलाई पत्र लेखी यातायातका साधनमा भाडा सूची देख्ने गरी अनिवार्य राख्न अनुरोध गरेको हो ।
यात्रुको सुविधा ख्याल गर्दैै सबै यात्रुले देख्नेगरी सवारी साधनमा भाडासूची राख्न अनुरोध गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दियो । जिल्लामा लामो समय देखि सवारी साधनले बढी भाडा लिने गरेको गुनासो यात्रुले गर्ने गरेका थिए ।
कुनै पनि सवारी साधनले यात्रुबाट तोकिएभन्दा बढी भाडा लिए उसलाई जरिमाना गराउने र लिएको बढी भाडा फिर्ता पनि गराईने छ । तोकिएभन्दा बढी कुनैपनि हालतमा भाडा नलिनेगरी नियमन गर्न माथिल्लो तहबाट निर्देशन आएकाले जिल्लामा त्यहीअनुसार भाडादर कार्यान्वयन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले बतायो ।
प्रहरीका अनुसार ‘अब प्रत्येक सार्वजनिक सवारीमा भाडाको सूची हुनेछ, यात्रु पनि आफूले तिर्नुपर्ने भाडादरबारे सचेत हुनुपर्छ,’ ‘कसैले बढी भाडा लिए उजुरी गर्नुस्, दोषीलाई कारबाही हुनेछ ।
यस्तै प्रहरीका अनुसार भाडादर स्पष्ट नहुँदा यात्रु र यातायात मजदुरबीच बेला–बेला झगडा, मनमुटाव हुने गरेको व्यवसायी बताउँछन्। ‘भाडादरबारे दुवै पक्ष स्पष्ट नहुँदा जिल्लामा भाडाको विषयलाई नै लिएर कुटाकुटसमेत हुने गरेका समस्या आउँछन् ।

