एकताको प्रतीक लोहोरो सिलौटो (कविता)

पिताम्बर बन्जाडे
सधै संगै बस्ने भएर पनि 
कहिले मिल्न नसक्ने ,
जिन्दगी संगै विताएर पनि
कहिले चिन्न नसक्ने ,
महामूर्खहरूको   एकताको प्रतीक हो लोहोरो सिलौटो ।
बलियो भएर पनि सधै
अर्कैको हातको सहारामा चल्ने ,
सधैको भोको , सधैको प्यासी  ,
आहारिसेहरूको 
एकताको प्रतीक हो लोहोरो सिलौटो ।
जमिनै भासिए पनि 
पद र स्थान छोड्न नचाहने सिलौटो,
घिसिएर फिरौली नै भए पनि
ठोक्किन नछाड्ने लोहोरो ,जस्ता
लोभी पापीहरूको 
एकताको प्रतीक हो लोहोरो सिलौटो ।
  अस्तु :