अर्घाखाँचीका विद्यालयहरुमा दिवा खाजा कार्यक्रम शुरु भएपछि पढाईमा उल्लेख्य सुधार

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरु भएपछि पढाईमा समेत उल्लेख्य सुधार आउन थालेको छ ।  
जिल्लाभरका विद्यालयमा नै खाजा खान पाएपछि विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्नुका साथै पढाइमा पनि सुधार आउन थालेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा जिल्लाका ६ स्थानीय तहमा रहेका ६१ वार्डका सामुदायिक विद्यालयमा अहिले दिवा खाजा कार्यक्रम शुरु भएको छ ।
बालबालिकाले दिउँसोको समयमा विद्यालयमै दिवा खाजा खान पाएपछि उनीहरुको विद्यालयप्रति आकर्षण बढ्नुका साथै र पढाइमा समेत उल्लेख्य सुधार आएको दाबी गरिएको छ ।
सन्धिखर्कका स्थानिय  विधार्थीहरु भन्छन्, “बिहान हतारहतार गरेर विद्यालय आउनुपर्छ अनि मध्याह्नको खाजा खाने समयमा भोक लाग्न शुरु हुन्छ, भोक लागेपछि पढाई छाडी घर जान मन लाग्थ्यो, अहिले त्यो भोक लाग्ने समय विद्यालयमै खाजा खान पाउँदा सजिलो भएको छ ।”
दिउँसो भोक लागेपछि पढाई छाडेर खाजा खानकै लागि घर जाने अधिकांश विद्यार्थीले अहिले विद्यालयमै खाजा खान पाउने आशाले पूरा विषय पढ्न थालेपछि पढाईमा पनि निकै सुधार आएको विद्यालहरुले बताउन्छन् । पालिकाबाट प्रतिविद्यार्थी रु १५ का दरले रकम आउने गरेको छ । सो रकमबाट विद्यार्थीले हरेक दिन विभिन्न परिकारका खाजा खाने गरेका विद्यालहरुको भनाई छ।   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका बालबालिकाको दिवा खाजा कार्यक्रमको रकम पालिकाको खातामा पठाउने र पालिकाले रकम सिधै विद्यालयको खातामा राख्दै आएपछि विद्यार्थीलाई दिवा खाजा खुवाउने कार्यक्रम शुरु भएको शिक्षा विकास तथा समन्वय एकाइ अर्घाखाँचीको भनाई छ ।  
अर्घाखाँचीमा यो कार्यक्रम लागू भएपछि पहिला विद्यालय छाडेका विद्यार्थी पनि विद्यालय भर्ना भएका छन् भने विद्यालय छाड्नेको सङ्ख्या निकै घटेको छ । जिल्लाका सबैजसो सामुदायिक विद्यालयमा यो अभियान थालिए पनि गुणस्तरीय खाजा खुवाएका छन् या छैनन् भन्नेबारेमा भने चुनौती छ । स्थानीय तह र जनप्रतिनिधिले नियमितरूपमा विद्यालयमा अनुगमन गर्नुपर्ने शिक्षा विकास तथा समन्वय एकाइ अर्घाखाँचीको भनाई छ ।  

अन्य समाचारहरु