लक्ष्मण घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । आईतवार १२ बजेदेखि लागु भएको निषेधाज्ञाको प्रभावले अर्घाखाँची जिल्ला सुनसान जस्तै भएको छ । जिल्लामा कोरोना भाईरसका संक्रमितको संख्यामा वृद्धि हुँदै गएपछि साउन १४ गते जिल्ला स्थित कोरोना संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को निर्णय अनुसार निषेधाज्ञा लागु भएको हो ।
निषेधाज्ञा थप कडाई गर्न सन्धिखक, चुत्रावेसी बजार, जिल्लाका व्यस्त ठाउँहरुमा प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बजारका चोकचोकमा सचेतना मुलक सन्देश प्रवाह गरेको छ । निषेधाज्ञा लागु भएसँगै अत्यावश्यकका साधान बाहेक नीजि तथा सार्वजनिक सवारि साधन सञ्चालनमा रोक लगाईएको छ । जिल्ला बाहिरबाट अत्यावश्यक काम लागि आउनेहरुले जिल्ला प्रशासनसँग सहजिकरण गरेर मात्र प्रवेश गर्न पाईने बताईएको छ ।
दैनिक उपभोग्य वस्तु खाद्यान्न, तरकारी तथा फलफुल, दुध डेरी, मासु पसल, कृषिजन्य पसल विहान ६ बजेदेखि विहान ९ बजेसम्म मात्र खोल्न दिईएको छ । औषधि पसल, क्लिनिक, डेन्टल क्लिनिक २४ सै घण्टा खुल्नेछन् । निषेधाज्ञा अवधिभर बैंक तथा वित्तिय संस्था, सभा–सम्मेलन, गोष्ठि, भोज भतेर गर्न पाईने छैन भने लोक सेवा आयोग, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय परिक्षा बोर्ड, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् लगायत निकायका पुर्वनिर्धारित परिक्षा भने सञ्चालन हुनेछन् । मानिसहरु पनि अति आवश्यक काम परे मात्र घर बाहिर निस्केका छन् ।
साउन ३० गते राति १० बजेसम्म लागु गरिएको निषेधाज्ञाको समयमा कोहि कसैले पनि अटेरी गरे कडाभन्दा कडा कारबाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।मध्यरातदेखी लागु भएको निषेधाज्ञाको पुर्णरुपमा पालना गर्न र जिल्ला कोरोनाको अती उच्च जोखिममा रहेकाले नियमको पुर्ण पालना गर्दै स्वास्थ्य मापदण्ड अपनाउन कार्यालयले आग्रह गरेको छ ।
हाल अर्घाखाँचीमा पाँच सय ९० जना कोरोना भाईरसका सक्रिय संक्रमित रहेका छन् । ६३ जनाको कोरोनाका कारण ज्यान गईसकेको छ ।
