महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्मजयन्ती मनाईंदै

काठमाडौं, कात्तिक १८ । आज नेपालीहरुले मनाउने तिहारअन्तर्गत लक्ष्मीपूजा । याे दिन नेपाली साहित्यका लागि अर्काे महत्वपूर्ण चाड पनि हाे । नेपाली साहित्यकाशका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म भएकाे दिन ।
आफ्ना कालजयी कृतिमार्फत् नेपाली साहित्यमा पुर्‍याएको योगदानलाई स्मरण गर्दै आज ११३ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाईंदै छ । हरेक वर्षको नेपालका साथै भारतको दार्जिलिङ सिक्किम एवं नेपाली भाषीको बाहुल्य भएका क्षेत्रमा लक्ष्मी पूजाको दिन देवकोटाको जन्मजयन्ती धुमधामका साथ मनाउने गरिन्छ ।
महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँशी अर्थात् लक्ष्मीपूजाका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीको साहिंलो छोराका रुपमा काठमाडौको डिल्लीबजारमा भएको थियो ।
दस वर्षका उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको शुरुवात गर्नुभएको थियो ।
तत्कालीन राणा शासनमा सर्वसाधारणलाई अध्ययन गर्न दिनुपर्ने भन्दै अभियान चलाउने देवकोटा लाईब्रेरी काण्डमा समेत पर्नुभएको थियो ।
देवकोटाको कवितायात्राको पूर्वार्द्धकालीन कविता सङ्ग्रहहरूमा ‘भिखारी’ कविता संग्रहलाई, काव्य खण्डकाव्यहरूमा ‘मुनामदन’ खण्डकाव्यलाई र महाकाव्यहरूमा ‘शाकुन्तल’ महाकाव्यलाई प्रतिनिधिमूलक कृतिको रूपमा लिने गरिन्छ ।
उहाँको उत्तरार्द्धकालीन कवितायात्राका कविता संग्रहहरूमा ‘लक्ष्मी कविता संग्रह’, काव्य–खण्डकाव्यहरूमा ‘मायाविनी सर्सी’ खण्डकाव्य र महाकाव्यमा ‘प्रमिथस’ महाकाव्यलाई प्रतिनिधिमूलक कृति मान्ने गरिन्छ ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित अहिलेसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक पनि हो । देवकोटाका रचनामा मानवतावाद र प्रकृतिप्रेम झल्कन्छ ।
तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दश दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नुभएका देवकोटामा तत्काल लेख्न सक्ने साहित्यिक विशेषता र क्षमता थियो । “पागल“ कविता देवकोटाको अर्को महान सिर्जना हो । जसमार्फत् आफूलाई पागल भन्नेहरूलाई उहाँले कविताबाटै जवाफ दिनुभएको छ ।
समकालीन समयमा देवकोटा यति चर्चित हुनुहुन्थ्यो कि, भारतीय महापण्डित डा.राहुल साङ्कृत्यायनले त ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानव अवतारका रूपमा लिएको छु’ भन्दै भारतका तत्कालीन चर्चित तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भन्नुभएको थियो ।
चौध भाषा बुझ्ने देवकोटाले नौ भाषामा लेखेको कविता त शारदा मासिकमै छापिएको थियो । सन् १९५८ को अक्टुबरमा तत्कालीन सोभियत गणराज्य उज्बेकिस्तानको राजधानी तासकन्दमा भएको अफ्रो–एसियाली लेखक सम्मेलनमा देवकोटाले दिएको मन्तव्य उत्तिकै चर्चित बनेको थियो ।
विज्ञान विषयमा प्रमाणपत्र अध्ययन पूरा गरेपछि मानविकी सङ्कायमा सरेर अंग्रेजीमा स्नातकोत्तर अध्ययन गर्नुभएका देवकोटालाई चर्चित भने नेपाली साहित्यले गरायो ।
काठमाडौंमा त्यतिबेला मध्यम परिवारमा जन्मिएका लक्ष्मीप्रसाद देवकोटा लक्ष्मी पूजाको दिन नै जन्मिएकाले लक्ष्मीको प्रसादको रुप मानेर नाम नै लक्ष्मी प्रसाद राखिएको थियो ।
नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको शुरुवातकर्ता देवकोटा राण शासनको समयमा जनताले समेत अध्ययन गर्न पाउनुपर्ने भन्दै क्रान्ति गरेबापत पटक पटक जेल समेत पर्नुभएको थियो ।
डो केआई सिंह नेतृत्वको सरकारमा शिक्षा मन्त्री बन्दा देवकोटाले वर्तमानको त्रिभुवन विश्वविद्यालय स्थापना र भवन निर्माणका लागि कीर्तिपुरमा जग्गाको व्यवस्था मिलाउनु भएको थियो । विसं २०१६ मा शिक्षामन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रुपमा लागू गराएको श्रेय पनि उहाँलाई जान्छ ।
सरकारले देवकोटा जन्मिएको काठमाडौं मैतिघरको घरलाई संग्रहालयको रुपमा विकास गराउन पुरानो घर भत्काएर निर्माण गराइरहेको छ । रासस