सन्धिखर्कमा अपाङ्गमाथि हुने यौन तथा लैंगिक हिंसा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न


प्रेम नारायण आचार्य 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  नेपालमा अन्य महिलाको तुलनामा अपाङ्गता भएका महिला बढी हिंसाको मारमा परेको अर्घाखाँची जिल्लामा एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् ।
 राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजनामा अर्घाखाँचीको सन्धिखर्कमा अपाङ्गता भएका व्यक्तिमाथि हुने यौन तथा लैंगिक हिंसा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । 
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रीय अध्यक्ष मित्रलाल शर्माले अपाङ्गता नभएका महिलाको तुलनामा अपाङ्गता भएका महिला दुई गुण बढी हिंसाको मारमा परेको बताए। उनले पहुँचको अभावमा अपाङ्गता भएका महिला हिंसामा परेका उजुरीहरु पनि कम पर्ने गरेको बताए । 
अधिवक्ता पवित्रा भट्टराईले जिल्ला अदालत तथा जिल्ला प्रहरी कार्यालयमा सांकेतिक भाषा नजानेको तथा दोभाषेको अभावले पनि अपाङ्गता भएकाहरुले न्याय पाउन नसकेको बताइन्। 
यसैगरी कार्यक्रममा जिल्ला न्यायधीवक्ता श्याम सुन्दर चौधरीले अपांङ्गताहरुका मुद्धा कम आउने गरेका बताए।  प्रहरी निरीक्षक सुजन विक्रम शाहले हिंसामा परेका केही उजुरी प्रहरीमा आउने गरेको बताए । उनले दोभाषे तथा अपाङ्गताहरुको भाषा बुझ्ने घरको सदस्यलाई ल्याएर समेत बयान लिने गरेको बताए । 
कार्यक्रममा जिल्ला प्रशासन कार्यलयका नायव सुब्बा राजन पाण्डे, सन्धिखर्क नगरपालिकाका न्यायिक समिति सदस्य आशा परियार, युएन्एफ्पिएका जिल्ला संयोजक सुजाता सुब्बा, नेपाल बार एसोसिएसनका जिल्ला उपाध्यक्ष पबित्रा भट्टराइ, इन्सेकका जिल्ला प्रतिनिधि कुलबहादुर नेपाली, देउराली अपाङ्ग केन्द्रका राम प्रसाद पौडेललगायतले मन्तव्य राखेका थिए । 
कार्यक्रम राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रीय अध्यक्ष मित्रलाल शर्माको अध्यक्षता भएको थियो।
 

अन्य समाचारहरु