अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची डट्कमका पुर्व मध्यपुर्व प्रमुख संवाददाता तथा अर्घाखाँची जिल्लाको बल्कोट निवासी यूएईमा कार्यरत पत्रकार उमाकान्त पाण्डेलाई तीन महिना जेल सजाय र झन्डै आठ लाख रुपैयाँ जरिवाना भएको छ ।
उनलाई दुबई अदालतले मंगलबार तीन महिना जेल सजाय हुने फैसला गरेको हो । दुबई बसेर नेपाली पत्रकारिता गर्दै आएका पाण्डेलाई सजाय भुक्तानपछि युएई सरकारले देश निष्कासन (डिपोट) गर्नेछ । उनका सबै सामग्री जफत हुने र सामाजिक सञ्जाल फेसबुक बन्द गरिनेछ । पाण्डेले जरिवानाबापत २० हजार दिराम (सात लाख ९९ हजार चार सय रुपैयाँ) जरिना तिर्नुपर्नेछ ।
यूएईमा कार्यरत पत्रकार उमाकान्त पाण्डेलाई गत सोमबार ३ फागुन (फेब्रुअरी १४ तारिख)का दिन यूएई स्थिती अबुधाबी प्रहरीले हिरासतमा लिएको थियो । लगत्तै अबुधावीस्थित अल वाथ्बा जेलमा राखिएको थियो । सामाजिक सञ्जालमा स्टाटस लेखेकै विषयलाई कसुर ठहर्याएर दुबई अदालतले यस्तो फैसला गरेको हो । नेपाली दूतावासका जनसम्पर्क अधिकृत इरफानले दूतावास विरुद्द गत जनवरी ७ गते फेसबुकमा लेखेको भन्ने आरोपमा साईबर क्राईम मुद्दा गरेका कारण पाण्डेलाई पक्राउ गरेको बताइएको थियो ।
साथै दुबईको कानुनअनुसार अदालतको फैसला चित्त नबुझे फैसला भएको १४ दिनसम्म अदालतविरुद्ध अपिल गर्न सकिन्छ ।
उता उमाकान्त पाण्डेको सजायप्रति अर्घाखाँचीडट्कमको गम्भीर ध्यानाकर्षण भएको छ । अर्घाखाँचीडट्कमका सम्पादक सन्तोष के.सीले एक विज्ञप्ती जारी गर्दै पाण्डेको तत्काल रिहाईको वातावरण बनाउन आग्रह गरिएको छ ।
पाण्डेले करिव १० वर्ष बढी अर्घाखाँची डट्कमको मध्यपुर्व प्रमुखका रुपमा काम गरेका थिए ।
