राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुँदै प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबरा। तस्बिर : सुजन गुरुङ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् प्रतिनिधि सभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणालाई पद तथा गोपनीयतको शपथ ग्रहण गराउनुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार दिउँसो ज्येष्ठ सदस्य राणाले शपथ लिनुभएको हो। नागरिकताको प्रमाणपत्र अनुसार, ज्येष्ठ सदस्य राणाको जन्म विसं १९९८ मङ्सिर २४ गते छ।

प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ।
सभामुखको चयन नहुँदाका बखत प्रतिनिधि सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अरु सदस्यलाई शपथ दिलाउनुपर्नेछ। सो व्यवस्थाअनुरुप ज्येष्ठ सदस्य राणाले नयाँ बानेश्वरस्थित संसद् भवनमा नवनिर्वाचित अन्य सदस्यलाई बिहीबार दिउँसो १ बजे शपथ गराउनुहुने सङ्घीय संसद् सचिवालयले जनाएको छ।

नेपालको संविधानअनुसार सङ्घीय संसद्का सदस्यले सदन वा त्यसको कुनै पनि समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्छ भन्ने व्यवस्था छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीद्वारा एक सय १० गरी दुई सय ७५ जना प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको छ ।

प्रनिनिधि सभाको कार्यकाल पाँच वर्षको हुनेछ । प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत संवैधानिक अङ्गका प्रमुख उपस्थित हुनुहुन्थ्यो।



