
काठमाडौँ– कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय लिएपछि संविधानविद् डा. भीमार्जुन आचार्यसँग प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको कांग्रेसलाई प्रमुख प्रतिपक्ष दल भन्न मिल्छ कि मिल्दैँन ? भनेर सोध्यो : आचार्यको भनाइ जस्ताको त्यस्तै प्रस्तुत गरेका छौँ :
संसदीय शासन प्रणाली भनेको बलियो प्रतिपक्षसहितको शासन प्रणाली हो । बलियो प्रतिपक्ष भएमा सत्तापक्षमा भएकाले जथाभावी काम गर्न नपाउने, जवाफदेहिता रहने र प्रत्येक काममा खबरदारी रहने मान्यता छ । प्रतिपक्षविहीन सरकारको संविधानले परिकल्पना नगरेको हुनाले यो कुरा सत्ताका लागि राजनीति गरेको जस्तो मात्रै देखिन्छ ।

सरकारको पक्षमा मतदान गर्नु भनेको प्रतिपक्ष नभएर सत्तापक्ष नै भन्नुपर्छ । संविधानमा बलियो प्रतिपक्षको परिकल्पना गरिएको छ । प्रतिपक्ष बिनाको संसदीय शासन प्रणाली कल्पना नै गरिदैँन । संविधानको प्रावधान मात्रै नभएर भावना पनि यही हो । यी कुरा प्रतिनिधित्व गर्ने दलहरूले बुझ्नुपर्छ । यो कुराले भागबण्डाको स्वार्थलाई दर्शाएको छ । सत्तामा बस्नेभन्दा प्रतिपक्षमा बस्नेको भूमिका बढी भएको र सबैले समर्थन गरेमा संविधान नबुझेको भन्ने सन्देश जान्छ ।

सरकारलाई समर्थन गरेपछि वैधानिक रूपले प्रतिपक्ष भन्न मिल्दैन। सरकारलाई समर्थन पनि गर्ने र प्रतिपक्षमा पनि रहने दोहोरो चरित्र देखाउन गर्न मिल्दैन । यो दोहोरो मापदण्ड हो र गलत हो । समर्थन गर्ने, प्रतिपक्षमा बस्छु भन्ने एउटा लज्जाको विषय हो । त्यसलाई सत्तापक्ष भनिन्छ, प्रतिपक्ष होइन ।-इ कागज



