

– मोहनविक्रम सिंह
पार्टीको काम र मेरो पढाइको बिचमा बारम्बार एक प्रकारको अन्तरविरोध देखा पर्ने गरेको छ । पार्टीको काम गर्ने सिलसिलामा कैयौँपल्ट मेरो पढाइ छुट्ने गरेको छ तर फेरि मैले पुन: नयाँ प्रकारले पढाइलाई अगाडि बढाउने प्रयत्न गर्ने गरेको छु ।

हाम्रा कैयौँ साथीहरूले कम्युनिस्टले बुर्जुवा शिक्षा पढ्नुहुन्न भन्ने सोचेर बिचैमा पढाइ छाड्ने गरेका पनि कैयौँ उदाहरण छन् तर मेरो कहिल्यै पनि त्यस प्रकारको सोचाइ रहेन र मैले सम्भव भएसम्म उच्च शिक्षा प्राप्त गर्ने प्रयत्न गरेँ भने अन्य साथीहरूलाई पनि सम्भव भएसम्म त्यसका लागि प्रोत्साहित गर्ने गरेको छु ।

२०१० सालमा पार्टीमा सामेल भएपछि म होलटाइमर बनेँ । त्यो बेला मैले जुद्धोदय पब्लिक हाईस्कुलमा ९ कक्षामा पढ्दै थिएँ । पार्टीको होलटाइमर भएपछि मेरो पढाइ छुट्यो । त्यसपछि २०१५ सालको चुनावको बेलामा मैले एसएलसी परीक्षाको तयारी गरेँ र पाल्पा तानसेनको जनता विद्यालयमा प्राइभेट जाच दिएर परीक्षा उत्तीर्ण गरेँ तर त्यसपछि मैले आफ्नो पढाइलाई लगातार अगाडि बढाउन सकिनँ ।
२०१७ सालमा मैले केन्द्रीय कमिटीमा पढाइ गर्नका लागि केही वर्ष छुट्टी माग्ने विचार गरेँ । केन्द्रीय कमिटीले मलाई छुट्टी पनि दियो । मैले पढ्नको लागि छुट्टी लिएपछि केन्द्रीय कमिटीका कैयौँ साथीहरूले पलायन भएको भनेर मेरो टीकाटिप्पणी पनि गरे तर मेरो सोचाइ पढाइ पूरा गरेपछि पुन: पार्टीमा आएर काम गर्ने वा पढाइ गर्दागर्दै पनि पार्टीको काम गर्दै जाने नै थियो । मलाई पलायन गरेको भन्ने आलोचनाको जवाफमा त्यो बेला मैले ‘म भागिरहेछु वा लडिरहेछु’ शीर्षकले एउटा कविता लेखेको थिएँ । त्यो कविताका प्रारम्भिक पङ्क्ति यस प्रकारका थिए –
“तिमी भन्छौ, म भागिरहेको छु
किनभने म यो धरतीलाई छाडेर
आकाशतिर गइरहेको छु !
तर म
“यो धरतीको माया मारेर,
त्यो निलो आकाशको मायामा अल्झेर
आकाशतिर गइरहेको छैनँ ।”
म त
“ती काला बादलहरूसित लडेर
ती चम्किला ताराहरू टिपेर,
यो धरतीलाई सिँगार्ने सङ्कल्प गरेर
आकाशतिर गइरहेको छु ।”
ती पङ्क्तिमा व्यक्त गरेका भावका पछाडि उच्च शिक्षा प्राप्त गरेर पुन: पार्टीको काम अरू सशक्त र प्रभावशाली प्रकारले गर्ने मेरो सङ्कल्प निहित थियो । त्यसकारण मैले आफूलाई भागिरहेको ठानिरहेको थिइनँ । त्यस सिलसिलामा त्यो कवितामा अगाडि भनिएको थियो –
तिमीले भन्छौँ, म भागिरहेको छु
तर म भन्दछु– “म लडिरहेको छु”
त्यो कवितामा यो पनि लेखिएको थियो –
त्यो दिन
“जब म धरतीको मायाँ मारेर
इन्द्रेणीको रङमा भुल्ने छु
धरतीलाई सिँगार्ने ब्रत छाडेर
आकाशमा नै डेरा जमाउने छु”
त्यो दिन
तिमीले मलाई
बाँचेको भए पनि “मरेको सम्झनू”
मेरा लाशमा परैबाट
ढुङ्गाले हानेर “फर्केर जानू”
त्यो कविताको अन्तमा लेखिएको थियो –
तिमीले मान वा नमान
आज नभए भोलि
धरतीका चट्टानहरूले बताउने छन्
म भागिरहेको छु वा लडिरहेको छु ?
त्यो कविता २०१७ सालको कात्तिक १७ गते लेखिएको थियो (हेर्नुहोस्, युगनृत्य, पृष्ठ २२) । त्यसपछि करिब ६२ वर्षको लामो अवधि बितिसकेको छ । त्यो अवधिमा म भागिरहेको छु वा लडिरहेको छु ? त्यो कुरा करिब ६ दसकको मेरो पार्टीजीवनले नै बताउने छ ।
पार्टीबाट पढाइको छुट्टी लिएपछि मैले घरमा गएर पिताजी खिमविक्रमसित पढ्न जानका लागि पार्टीबाट छुट्टी लिएको कुरा बताएँ । मेरो त्यो प्रस्तावलाई उहाँले सहर्ष स्वीकार गर्नुभयो र त्यसका लागि आवश्यक खर्चको व्यवस्था गर्ने पनि वचन दिनुभयो । पहिले म दार्जिलिङ पढ्न जाने र आई.ए. र बी.ए. सम्म त्यहीँ पढ्ने र त्यसपछि अरू उच्च शिक्षाको लागि लन्डन पढ्न जाने सल्लाह भयो । मेरो राइलो भाइ शङ्कर पनि मसित सँगै पढ्न जाने सल्लाह भयो ।
म पढाइको लागि दार्जिलिङ जाने सल्लाह भइरहेको बेलामा एक दिन म ओखरकोटको मच्छीमा गएको थिएँ । पिताजी पनि त्यहीँ जानुभएको थियो । त्यही बेला टिम्मुरचौरको एउटा किसानले उनको एउटा सालको रुख पिताजीले जबरजस्ती काटिदिएको उजुरी मकहाँ दिए । त्यो बेला म प्युठानको जिल्ला किसान सङ्घको सभापति पनि थिए । मैले पिताजीलाई त्यो काटेको रुख फर्काइदिनँ भने । उहाँले मेरो कुरा मान्नुभएन । त्यही विषयमा मच्छीमा नै बाबुछोराको चर्काचर्की झगडा पर्यो ।
त्यसपछि मेरो दार्जलिङ र पछि लन्डन पढ्न जाने कुरा हरायो । अर्का दिन बिहानै म पिताजीसँग बिदा पनि नभइकन बनारसको लागि हिँडे । मैले त्यहीँ प्राइभेट परीक्षार्थीको रूपमा आई.ए. र बी.ए. को परीक्षा दिने योजना बनाएँ । मैले आई.ए. को परीक्षाको तयारी गर्दै थिएँ । त्यही बेला नेपालमा पुस १ गतेको काण्ड भयो ।
पुस १ गतेका दिन नै बनारसको दुधविनायकको नेपाली धर्मशालामा राजाको त्यो कदमका विरुद्ध आमसभा भएको थियो र एउटा पर्चा पनि प्रकाशित गरिएको थियो ।
सम्भवत: पुस १ गतेको काण्डका विरुद्ध गरिएको त्यो नेपालको नै पहिलो सभा थियो । त्यो सभामा का. बलराम उपाध्याय र म वक्ता थियौँ । अरू को को वक्ता हुनुहुन्थ्यो ? अहिले मलाई त्यो कुराको सम्झना छैन ।

पुस १ गतेको काण्डपछि मैले आफ्नो पढाइ छाडे र हामी दरभङ्गातिर लाग्यौँ । त्यहीँ दरभङ्गा प्लेनम भयो । दरभङ्गा प्लेनमपछि हामीहरू डा. केशरजङ्ग रायमाझीको बहुमतका विरुद्ध विद्रोह गरेर तेस्रो महाधिवेशन गर्ने तयारीमा लाग्यौँ ।
त्यस सिलसिलामा म काठमाडौँ गएको बेलामा पिताजी पनि सिकिस्त बिरामी भएर उपचारका लागि काठमाडौँमा आउनुभएको रहेछ । उहाँ पाटनको एउटा अस्पतालमा भर्ना हुनुभएको थियो । टिम्मुरचौरको सालको रुखको प्रश्नमा मेरो उहाँसित झगडा परेपछि उहाँसित मेरो कुनै भेटघाट भएको थिएन । उहाँ बिरामी भएको थाहा पाएपछि म उहाँलाई भेट्न अस्पताल गएँ र केही दिनको उपचारपछि उहाँ अस्पतालबाट डिस्चार्ज भएर डेरामा आउनुभयो । म त्यसरी भेट्न आएकोमा उहाँ धेरै नै खुसी हुनुभयो र उहाँले मलाई पुन: दार्जलिङ पढ्न जान कुरा गर्नुभयो तर अब देशको स्थिति बेग्लै भइसकेको थियो र हामी तेस्रो महाधिवेशनको तयारीमा समेत लागिसकेका थियौँ । त्यसकारण मेरा लागि अब पढ्नको लागि दार्जलिङ वा लन्डन पढ्न जानु सम्भव थिएन । त्यसकारण मैले उहाँको प्रस्तावलाई स्वीकार गर्न सकिनँ ।
तृतीय महाधिवेशन तयारीको सिलसिलामा म, का. शक्ति लम्साल र का. खिमानसिंह गुरुङसहित तौलिहवामा गिरफ्तार भयौँ । त्यसपछि काठमाडौँको जेलमा चलान भएपछि मैले त्यहीबाट आई.ए. र बी.ए. को परीक्षा उत्तीर्ण गरेँ ।
का. जलजलासितको प्रेम प्रकरणमा पार्टीबाट निष्काशित भएपछि मैले आगरा युनिभर्सिटीबाट अर्थशास्त्रमा एम.ए. को परीक्षा उत्तीर्ण गरेँ । त्यो बेला म पार्टीबाट निष्कासित भएर केरलमा बसेको थिएँ । केरलबाट आगरा आउन, फारम भर्न र परीक्षा दिनसमेत गोविन्दसिंह मामाले मलाई धेरै मदत गर्नुभएको थियो ।
जलजला र म कैयौँपल्ट गढवाल, कुमाउँमा घुम्न गएका थियौँ । त्यो क्षेत्र हामीलाई नेपाल जस्तो तथा त्यहाँका बासिन्दाहरू नेपाली भए जस्तो लाग्दथ्यो । त्यसैले हामी दुबै जनाले गढवाल, कुमाउँलाई धेरै नै राम्रो मानेका थियौँ । त्यहाँ घुम्न जाँदा हामीलाई नेपालमा नै घुमेको जस्तो लाग्दथ्यो । त्यहाँ गएको बेलामा नै जलजला र मेराबिचमा गढवाल, कुमाउँ तथा पश्चिम नेपालसमेतलाई मिलाएर मैले पिएच.डी गर्ने समझदारी बनेको थियो ।
त्यही बिचमा जलजलाको मृत्यु भयो र त्यसपछि मैले आगरा युनिभर्सिटीबाट पिएच.डी. को लागि नाम दर्ता गराएँ । त्यसका लागि सामग्री जुटाउन पार्टीको कामबाट फुर्सद भएको बेलामा मैले करिब तीन वर्षसम्म गढवाल, कुमाउका विभिन्न स्थान, त्यहाँका पुस्तकालय तथा डिल्ली र इलाहावादका पुस्तकालयमा भ्रमण गरेर कैयौँ सामग्री जुटाएँ र कैयौँ नोट पनि तयार पारेँ । त्यसपछि थेसिस पूरा गर्नका लागि मलाई अझै कमसेकम दुई वर्षजति पूरै लाग्नुपर्ने आवश्यकता थियो तर एकातिर, नेपालको राजनीतिक परिस्थिति र आन्दोलनका आवश्यकता धेरै नै बढेर गएको हुनाले र अर्कातिर, पार्टीमा बढेका मतभेद र फुटसमेतका कारणले पार्टीबाट अलग हुन सक्ने स्थिति नभएको हुनाले समेत पिएच.डी. को लागि त्यति धेरै समय दिनु मेरा लागि सम्भव भएन । त्यसैले मेरो पिएच.डी. को तयारी बिचैमा छुट्यो ।
मैले पिएच.डी. को थेसिस पूरा गर्न नसके पनि गढवाल, कुमाउँ र पश्चिम नेपालका जुन क्षेत्रलाई मिलाएर मैले पिएच.डी. गर्ने योजना बनाएको थिएँ, त्यही क्षेत्रलाई आधार बनाएर म ‘का. जलजला’ उपन्यास लेख्ने काममा लागेँ र गत करिब २०/२२ वर्षदेखि मैले त्यो उपन्यास पूरा गर्ने प्रयत्न गर्दै छु । पार्टीका विभिन्न कामका कारणले उपन्यासमा पूरै लाग्न नसकेको हुनाले नै त्यो कार्य पूरा गर्न मलाई यति धेरै समय लागेको हो ।

प्रारम्भमा मेरो उपन्यासको क्षेत्र गढवाल, कुमाउँ र पश्चिम नेपाल मात्र थियो तर पछि त्यसको क्षेत्रको विस्तार हुँदै गयो र अब त्यो उपन्यासले एक प्रकारले सम्पूर्ण संसारलाई नै समेट्ने प्रयत्न गर्न थालेको छ । समय बित्नुका साथै उपन्यासको क्षेत्र विस्तार हुँदै गयो; उपन्यासको आकार पनि बढ्दै गयो र त्यसलाई पूरा गर्न समय पनि लम्बिँदै गयो । अहिले पनि मैले निश्चित रूपले भन्न सक्दिनँ : त्यो उपन्यास कहिलेसम्म प्रकाशित हुने छ ? सम्भवत: अर्काे सालको प्रारम्भतिर त्यो उपन्यास प्रकाशित हुन सक्ने छ ।
– युग दर्शनमा “सङ्क्षिप्त संस्मरण शृङ्खला–९ ” उल्लेख छ।





