टुकुचा खोला र बहाव क्षेत्रको लगत कट्टा गर्न मन्त्रालयलाई काठमाडौं महानगरको पत्र

काठमाडौं- काठमाडौं महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्रभित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्र पठाएको छ।

1140x725

पत्राचारका लागि महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले सोमबार निर्णय गरेका हुन्। निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले पत्र पठाएका छन्। पत्रमा भनिएको छ, ‘हात्तीसार क्षेत्रमा टुकुचा खोला र खोलाको बहाव क्षेत्र भित्रको जग्गा त्रुटिबस व्यक्ति विशेषको नाममा दर्ता कायम रहन गएको देखिएको हुँदा यथाशीघ्र व्यक्ति विशेषको नाममा दर्ता रहेको उक्त लगत कट्टा गर्ने र सार्वजनिक प्रयोजनमा रहने गरी प्रबन्ध गर्ने सम्बन्धमा आवश्यक कारबाहीको लागि मालपोत ऐन, २०३४ को दफा २४ को प्रयोजनार्थ अनुरोध गरिन्छ।’

मालपोत ऐन, २०३४ को दफा २ ले नदी, खोलानाला तथा सोको क्षेत्राधिकारको जग्गालाई सरकारी/सार्वजनिक जग्गा मानेको छ। सोही ऐनको दफा २४ (२) ले सरकारी/सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता हुन गएको रहेछ भने त्यस्तो दर्ता स्वतः बदर हुने र  सम्बन्धित मालपोत कार्यालय वा नेपाल सरकारले तोकेको अधिकारीले सोको लगत कट्टा गर्नुपर्ने व्यवस्था गरेको छ।

सो कानुनी व्यवस्थाको प्रतिकुल हुने गरी काठमाडौं महानगरपालिका वडा नम्बर १ हात्तीसार क्षेत्रमा टुकुचा खोलाको जग्गा व्यक्ति विशेषको नाममा दर्ता कायम रहन गएको अवस्था पत्रमार्फत अवगत गराइएको छ।

images