भेटियो सारुकको सुसाइड नोट, कसैलाई दोष नदिन प्रहरीलाई आग्रह

1

काठमाडौँ । गत असार २१ गते घरमै मृत भेटिएका अभिनेता सारुक ताम्राकारको सुसाइड नोट भेटिएको छ।

ad

३१ वर्षीय ताम्राकारले प्रयोग गर्दै आएको मोबाइल फोनको ल्याब परीक्षणबाट उनले छाडेको सुसाइड नोट भेटिएको हो।

काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा मृत भेटिएका उनले आत्महत्या गरेको निष्कर्ष प्रहरीले निकालेको थियो।

प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याबमा भएको परीक्षण रिपोर्ट आएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दान कार्कीले बताएका छन्।

उनले उक्त ल्याब रिपोर्टका आधारमा थप अनुसन्धान भइरहेको पनि जानकारी दिएका छन्।

एक प्रहरी अधिकारीका अनुसार सारुकले आफ्नो सुसाइड नोटमा कसैलाई दोष नदिन भनेका छन्।

कार्कीले मेडिकल रिपोर्टबाट पनि सारुकले आत्महत्या गरेको देखिएको बताएका छन्।

प्रहरीलाई पनि सम्बोधन गरेका उनले आफ्नै गल्तीले यो सबै भएकाले कसैलाई विवादमा नल्याउन पनि भनेका छन्।

images

उनी घरको छिडीमा रहेको पाइपमा पासो लगाएको अवस्थामा मृत भेटिएका थिए। आमा–बुवा बाहिर पार्टीमा गएका बेला उनी मृत फेला परेका थिए।

उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो। त्यसपछि उनको मृत्युको कारणबारे अनुसन्धान थालिएको थियो।

images

कलाकार सानु ताम्राकारका छोरा सारुक आत्महत्या अघिसम्म अभिनेत्री नम्रता श्रेष्ठसँग फिल्म ‘ह्यासट्याग माया’मा अभिनय गरिरहेका थिए।

फिल्मका मुख्य अभिनेता सारुक बिहीबार बिहान पनि फिल्मको सुटिङ गरेर घर फर्किएका थिए।

images

सारुकले ‘इन्टु मिन्टु लन्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाचे’लगायत फिल्ममा अभिनय गरेका थिए।

उनको पछिल्लो फिल्म ‘ह्यासट्याग माया’को छायांकन सकिन बाँकी छ। उनी अभिनित ‘इन्टु मिन्टु लन्डनमा’ पनि प्रदर्शनमा आइसकेको छैन।

ad