बझाङमा भूकम्प जाने क्रम जारी, अहिलेसम्म ४ म्याग्निच्युट माथिका ६ वटा धक्का

Open photo

काठमाडौं । बझाङमा भूकम्प जाने क्रम जारी छ । ६.३ म्याग्निच्युटको ठूलो भूकम्पपछि थप चारवटा भूकम्प गएका छन् । त्यसअघि पनि ५.३ म्याग्निच्युटको भूकम्प गएको थियो ।

आज एकैदिन ४ म्याग्निच्युट भन्दा माथिका ६ वटा भूकम्प गइसकेका छन् । ४ भन्दा सानो आकारका दर्जनौं परकम्प गइरहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ५ बजेर ३८ मिनेटमा ५ म्याग्निच्यूटको भूकम्प गएको छ । यो भूकम्पको केन्द्र हेमन्तवाडा नजिकै थियो । त्यसअघि ३ बजेर ४५ मिनेटमा ४.१ म्याग्निच्युटको अर्को भूकम्प गएको छ । यसको केन्द्र कडेल गाउँ नजिकै रहेको केन्द्रले जनाएको छ ।

४ बजेर २८ मिनेटमा फेरि ४.१ म्याग्निच्युटको अर्को भूकम्प गएको छ । यसको केन्द्र भोटेखोला नजिकै थियो । त्यसपछि ४ बजेर ३१ मिनेटमा ४.३ म्याग्निच्युटको भूकम्प गएको छ । यसको केन्द्र हेमन्तवाडा र कडेल गाउँको बीचमा रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

त्यसअघि, ३ बजेर ६ मिनेटमा ६.३ र २ बजेर ४० मिनेटमा ५.३ म्याग्निच्युटका भूकम्प गएका थिए । ६.३ म्याग्निच्युटको भूकम्पले धेरै घर भत्काएको छ । केही मानिस घाइते भएका छन् ।

ठूलो भूकम्पपछि आउने कम्पनलाई वैज्ञानिकले परकम्प भन्ने गरेका छन् । परकम्प जाने क्रम जारी रहेकाले मानिसहरूलाई घरबाहिरै बस्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

ad