इजरायलको जोखिमयुक्त क्षेत्रबाट अहिले सबै नेपाली सुरक्षित स्थानमा उद्धार, स्वदेश फर्किन दुई सय जनाभन्दा धेरैले टिपाए नाम : परराष्ट्र मन्त्रालय

Open photo

काठमाडौं। युद्धग्रस्त देश इजरायलबाट स्वदेश फर्किन चाहनेहरुका लागि तथ्याङ्क सङ्कलनको काम भइरहेको छ । सरकारले स्वदेश फर्कन चाहनेहरुलाई नाम रजिष्ट्रेशन गर्ने आग्रह गरिसकेको छ । अहिलेसम्म दुई सयभन्दा धेरैले नेपाल फर्किन अनलाइन रजिष्ट्रेशन भरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

1

सरकारले पहिलो प्राथमिकतामा राखेर इजरायल सरकारसँग समन्वय गरेर उनीहरुलाई स्वदेश फर्काउन काम थालिसकेको पनि मन्त्रालयले जनाएको छ ।

यसैबीच, इजरायलको जोखिमयुक्त क्षेत्रबाट लगभग सबै नेपालीलाई सुरक्षित ठाउँमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

द्वन्द्व प्रभावित क्षेत्रबाट सम्पर्कमा आएका सबै नेपालीको उद्धार गरी सुरक्षित ठाउँमा सारिएको इजरायलको तेल अबिबमा रहेको नेपाली दूतावासले जानकारी दिएको छ । अहिले उनीहरु सुरिक्षत ठाउँमा छन् ।

नेपाल फर्कन इच्छुकहरूको स्वदेश फिर्तीका लागि दूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग समन्वय भइरहेको छ । नेपाल फर्किन इच्छुक नेपालीले दूतावासको वेबसाइटमा राखिएको लिङ्कमा क्लिक गरी रजिष्ट्रेशन भर्न सक्ने छन् ।

रजिष्ट्रेशन सम्बन्धी थप जानकारी आवश्यक भएमा दूतावासमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ । रजिष्ट्रेशनको काम सकिएपछि नेपालबाट विमान पठाएर उनीहरुलाई ल्याउने सरकारको तयारी छ ।

यस्तै, दूतावासले इजरायलमा भएका नेपालीलाई संयमित एवम् सतर्क भइ दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न पनि आग्रह गरेको छ । यस्तै, बेपत्ता भएका एक जना नेपाली विद्यार्थीको पनि खोजी भइरहेको दूतावासले जनाएको छ ।

111