दशैँको मौका छोपेर मनपरि भाडा : दशैमा बसदेखि प्लेनसम्मको मनपरि भाडा

Open photo

काठमाडौं । विगतका वर्षमा झै यस वर्षपनि दशैं तिहारका समय काठमाडौं उपत्यका बाहिरिनेहरुले हैरानी खेपिरहेका छन् । एकातिर, सहज यातायातको सुविधा नपाउँदाको दुःख छ भने अर्कातिर भाडा दरमा हुने मनपरिले आजित छन् यात्रुहरु ।

1

चाडपर्वका बेला लाखौं सर्वसाधारण राजधानी काठमाडौंबाट आफ्नो गृह जिल्ला फर्कने भएकाले यस समय यातायात व्यवसायीहरूले भाडा समायोजनलाई ‘बार्गेनिङ टुल’ बनाएका छन् ।

सरकारले अन्य समयमा भाडा समायोजनमा वेवास्ता गर्ने गरेकाले चाडपर्वमा आफुहरुले बार्गेनिङ गर्नु परेको यातायात व्यवसायी बताउँछन् । तर, चाडपर्वमा भाडा वृद्धिदरको लफडाले मारमा पर्छन् यात्रुहरु । तर, यातायात व्यवसायीहरू भने गएको चैत महिनामा नै समायोजन गर्नुपर्ने भाडा अहिलेसम्म समायोजन नगरेको रटान लगाई रहेका छन् ।

सोचालित मूल्यमा नै अग्रिम टिकट बुकिङ भइरहेकाले भाडा बृद्धिको कुरामा व्यवसायीलाई बदनाम गर्ने प्रयास भइरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको दाबी छ । सडक यातायातमा मात्रै होइन हवाई यातायातमा पनि मनपरी भाडाले आजित छन् यात्रुहरु ।

सडक पूर्वाधार अभावका कारण यात्रुले हवाई यात्रा गर्नुपर्ने बाध्यता रहिआएको छ । यही बहानामा दशैँको मौका छोपेर निजी हवाई कम्पनीले यात्रुको ढाड सेक्नेगरी भाडा असुल्ने गरेका छन् ।

वायु सेवा कम्पनीले दशैँको मुखमा हरेक वर्ष झण्डै दोब्बर हवाईभाडा बढाउँदै आएका छन् । तर, कम्पनीहरू भने यो ‘डिमाण्ड एण्ड सप्लाई’को प्रक्रिया हो भन्दै मनपरी गरिरहेको छ ।

भाडा वृद्धिकै विषयले चाडपर्वका समय यात्रुको टाउको दुखाई हुनेगर्छ । भाडा वृद्धिकालागि सरकारसँग बार्गेनिङ गर्ने व्यवसायीको प्रवृतिले न समयमा टिकट बुकिङ खुल्छ, न व्यवस्थित हुन्छ । यसबीचमा पेलानमा पर्छन् यात्रुहरु ।

1

२०७८ सालमा पनि सरकारले सार्वजनिक यातायातमा देशैभर २८ प्रतिशतसम्म भाडामा बृद्धि गरेपछि मात्रै अग्रिम टिकट बुकिङ खुला गरिएको थियो ।

त्यसयता भाडा समायोजन नभएको भन्दै यातायात व्यवसायीहरूले पटक पटक आन्दोलनको चेतावनी पनि दिएका छन् । दशैं तिहारपछि समायोजनको आश्वासन पाएर यातायात व्यवसायीहरू हौसिए पनि सर्वसाधारणहरू भने महंगीको चेपुवामा पर्ने निश्चित छ ।

 

111Open photo