


गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकमा शनिबार राति घर आगलागी हुँदा जलेर आमा–छोराको ज्यान गएको छ । ७८ बर्षीया कान्छी गुरुङको घरमा आगलागी हुँदा उनी र अपाङ्गता रहेका उनका ३९ बर्षका छोरा चनारसिंङ गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


घटनाबारे आज बिहान मात्र खबर आएको जानकारी दिंदै प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले भने, ‘जगत प्रहरी चौकीको टोली घटनास्थल पुगिसक्यो, आरुघाटबाट प्रहरी निरीक्षक कमाण्डको टोली जाँदैछ ।’ आगलागीबाट घर पूर्ण रुपमा क्षति भएको र आमा छोराको घरभित्रै जलेको अवस्थामा शव फेला परेको जानकारी आएको उनले बताएका छन् । वडाध्यक्ष रामसिंङ गुरुङले घटनाबारे शनिबार राति १० बजे खबर पाएको बताएका छन् ।










