अयोध्यामा निर्मित मन्दिरमा भगवान श्रीरामको प्राणप्रतिष्ठा : आज उद्घाटन हुँदै

spot_img

काठमाडौं । अन्ततः मर्यादा पुरुषोत्तम श्रीरामको जन्मभूमिमा मन्दिर निर्माण सम्पन्न भएको छ । भारतको अयोध्याको रामकोटमा सन् १५२८ मा मुगल सम्राट् बाबरले बाबरी मस्जिद बनाउनु अघि रहेको रामन्दिरकै जगमा अहिले मन्दिर बनाइएको हो । जसको आज भव्य उद्घाटन हुँदैछ ।

1

अयोध्यामा नवनिर्मित भव्य राम मन्दिरमा भगवान श्रीरामको मूर्तिको प्राण प्रतिष्ठा विश्वभर हिन्दुहरुका लागि गर्वको विषय बनेको छ भने कयौं राष्ट्रहरुले उत्तिकै चासोका साथ हेरिरहेका छन् । भारतको सर्वोच्च अदालतले रामजन्मभूमिमा राम मन्दिर निर्माणका लागि बाटो खोलिदिएपछि सन् २०२० देखि मन्दिर निर्माण कार्य शुरु गरिएको थियो । यस राम मन्दिरका लागि १ हजार ८ सय करोड भारतीय रुपैयाँको बजेट विनियोजन गरिएको थियो ।

अयोध्याको आज राम मन्दिरमा प्राणप्रतिष्ठा हुँदै : RajdhaniDaily.com1

मन्दिर निर्माणका लागि ४ करोड भारतीय नागरिकले स्वेच्छाले चन्दा सहयोग गरेका छन् । यस मन्दिरमा ४४ वटा द्वार र ३ सय ९२ पिलर रहेका छन् । तीन तलाको राममन्दिर पूर्वपश्चिम दिशामा ३ सय ८० फिट लम्बाइको र २ सय ३५ फिट चौडाइको रहेको छ । हरेक तला २० फिट उँचाइका छन् । जमिनबाट गर्भगृहको चुचुरोको उँचाइ १ सय ६१ फिटको छ । अचम्म त के छ भने मन्दिर निर्माणमा फलामको प्रयोग नै गरिएको छैन । मन्दिर ग्रेनाइट पत्थरबाट मात्रै बनाइएको छ ।

प्राचीन नागर शैलीमा बनाइएको मुख्य मन्दिर ५७ हजार ४ सय वर्गफिट क्षेत्रमा बनेको छ । पिलर र ढोकाहरूमा विभिन्न भगवानका मूर्तिहरू कोरिएका छन् । मन्दिरको गर्भगृहमा भगवान् रामको मूर्ति छ । भगवान रामको बालस्वरुप मूर्ति ५१ इञ्च अग्लो छ भने मूर्तिको दायाँ बायाँ र तल माथि सूर्य चन्द्रमादेखि विभिन्न देवगण तथा ऋषिहरुका आकृति पनि कुँदिएको छ । मन्दिरमा पाँचवटा मण्डप तयार पारिएको छ ।

भारतीय समय अनुसार सोमबार १२ बजेर २० मिनेटमा शुरु हुने प्राण प्रतिष्ठा कार्यक्रम १ बजे समापन हुनेछ । प्राण प्रतिष्ठाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केही दिनदेखि नरिवल पानी मात्रै पिएर भुइँमा कम्बल ओछ्याएर सुत्दै आउनु भएको छ । प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालमा भगवान रामको मन्दिर निर्माण सम्पन्न हुनुलाई निकै महत्वपूर्ण मानिएको छ । प्राण प्रतिष्ठाका लागि देश विदेशका सयौं सन्त महन्थ लगायत भारतका उच्च पदस्थ व्यक्तित्वहरु, कलाकारहरु, उद्योगपति तथा व्यापारीलगायत हजारौ पाहुनाहरु अयोध्या पुगका छन् । यस समारोहका लागि झन्डै पाँच सय वर्षपछि दुलहीझैं सिंगारिएको रामनगरी अयोध्या मात्र नभइ भारत भर घरघरमा दिपोत्सव गरिने छ ।

1

विशेष सुरक्षा व्यवस्था मिलाइएको यो कार्यक्रमका लागि नेपालमा पनि उत्तिकै उत्साह छ । काठमाडौंसहित नेपालका विभिन्न शहरमा सनातन् धर्मावलम्वीहरुले विभिन्न कार्यक्रम गर्दैछन् । माता सीताको जन्मभूमि जनकपुरबाट सजाइएका गाडीहरू अयोध्या पुग्नुका साथै नेपालबाट शिला, जल र विभिन्न उपहार पठाइएको छ । सीताको जन्मभुमि जनकपुरधामबाट ५ बस, ४ ट्रक र २० भन्दा बढी साना गाडीहरूमा उपहारहरू पठाइएको छ । विश्वभरका हिन्दूहरुका आस्थाका केन्द्र मर्यादा पुरुषोत्तम श्रीरामको जन्मभूमिमै भव्य मन्दिर बन्नु र उक्त मन्दिरमा भगवान रामको मूर्तिको प्राण प्रतिष्ठा हुनु आफैमा ऐतिहासिक दिन हो ।

 

111