मानव तस्कर “दलाल” लाई साढे ७ लाख बुझाएर रूसी सेनामा भर्ती, ४ लाख बुझाएर स्वदेश फिर्ता

spot_img

काठमाडौं । देशभित्र बेरोजगारीले सीमा नाघेपछि विदेश पलायन हुनेमा अल्पशिक्षित र अदक्ष युवाहरु मात्रै छैनन्, सिभिल इञ्जिनियर जस्ता दक्ष पेशाकर्मीहरु पनि विदेश जान बाध्य छन् । र, त्यो पनि मानव तस्करलाई लाखौं रुपैयाँ बुझाएर रुसी सेनामा जान बाध्यछन् नेपाली युवाहरु ।

यसको ज्वलन्त उदाहरण हुन, दैलेख आठबिसेका २४ वर्षिय कृष्ण शाही । दलालमार्फत रुस पुगेर रुसी सेना आवद्ध भई युद्ध मैदानमा पुगेका उनी घाइते भएपछि अस्पतालबाट भागेर अहिले स्वदेश आइपुगेका छन् ।

गत मंसिरमा साढे सात लाख रुपैयाँ ऋण खोजेर खेम सुनार नामका दलाललाई बुझाई रुसमा भवन डिजाइन गर्ने सपना बोकेर रुस पुगेका कृष्ण शाही जब रुसमा पुगे उनलाई रुसी जंगलको बंकरमा पु¥याएर दश दिन राखियो । कृष्ण शाही मात्र होइन उनीसँगै एकै दिन गएका अन्य २९ जना नेपाली पनि दिनरात बंकरमै बस्न बाध्य भए । दश दिनपछि रुसी सेनाका कमाण्डरले युद्धकला सिकाउन बंकरबाट बाहिर निकाले र पाँच दिनको तालिन दिए ।

जिन्दगीमा पहिलो पटक बन्दुक समातेका कृष्णसहित अन्य नेपाली युवाहरु तालिमको छैठौं दिनमा युद्ध क्षेत्रमा धकेलिए, त्यो पनि अग्रपंक्तिमा रहने गरी । युद्ध लड्दा लड्दै आफ्नो साथीभाई घाइते भएको र मृत्युवरण गरेको दृश्य दिनहुँ देख्दा त्यहाँबाट भागेर उनी मस्कोस्थित नेपाली दुतावासतिर जाँदै गर्दा रुसी सेनाको कब्जामा परे । रुसी सेनाले उनलाई पक्राउ गरी शारीरिक यातना समेत दिँदै पुनः युद्ध मैदानमा फर्कायो ।

मनभरी देश, गाउँघर र परिवारको माया बोकेर युद्ध मैदानमा धकेलिएका उनी केही दिनभै घाइते हुन पुगे । उनको हात, खुट्टा र शरीरभरी युक्रेनी सेनाले प्रहार गरेका गोली लाग्यो । गोली लागेर ढलेका कृष्णलाई अरु नेपालीहरुले अस्पताल पुर्‍याए । स्वदेश फर्किनका लागि नेपालमा रहेका परिवारले बारम्बार नेपाल सरकारसँग गुहार माग्दा पनि केही नलाग्दा निराश भईसकेका कृष्णले अन्ततः दलाललाई नै लाखौं रुपैयाँ बुझाएर नेपाल आउने बाटो फेला पारे ।

नेपालमा रहेकी श्रीमतीले रुसी सेनाबाट भगाउने बंगलादेशी दलाललाई कृष्णकी श्रीमती चन्द्रिकाले दलाललाई फोन पे मार्फत ४ लाख रुपैयाँ बुझाएपछि उनी मृत्युको मुखबाट उम्केर स्वदेश आउन पाए ।

रुसी अस्पतालबाट कसरी भागे कृष्ण ?

अस्पतालमा रहँदा पनि निरन्तर रुसी सेनाको निगरानीमा रहेका कृष्णलाई अस्पतालबाट भाग्न पनि सजिलो थिएन । गोली निकालिसकेकाले रुसी सैनिकहरु अलिकति तंग्रिने वित्तिकै पुनः युद्धमा लैजान कुरिरहेका थिए । ओछ्यानबाट उठेर अलि अलि हिंड्न सक्ने भएपछि बंगलादेशी दलालहरुले अस्पतालको पछाडीको ढोकाबाट निकालेर गाडी राखी सिधै मस्कोस्थित नेपाली दुतावास पुर्‍याएका थिए ।

मस्कोबाट नेपाल फर्कन अर्को ९५ हजार रुपैयाँ खर्च लागेको उनले सुनाए । कीर्तिपुरमा श्रीमतीसहित बस्दै आएका उनी आफैंमा सक्षम प्राविधिक थिए । चितवन, कावासोतीलगायतका स्थानमा भवन निर्माण डिजाइनका काम समेत गरेका उनी नेपालमा भन्दा धेरै कमाउने लालसा र दलालको फन्दाले रुसी सेनामा पुर्‍याइए र कल्पना पनि नगरेको त्रासदी भोग्न बाध्य भए ।

आफू त जसोतसो स्वदेश फर्किएकाले अब बाँचियो भन्ने लागेको कृष्ण शाही आफूसँगै रुसी सेनामा पुगेका नेपाली साथीहरु कुन अवस्थामा होलान् भन्ने चिन्तामा छन् ।इमेजले समाचारमा उल्लेख गरेको छ।