युद्ध विरामको प्रस्ताव : हमासले गर्यो १३५ दिने युद्ध विरामको प्रस्ताव, इजरायलले माने ४ महिना शान्त हुनेछ गाजा

spot_img

काठमाडौँ- हमास-इजरायलबीच जारी युद्धका बेला हमास समूहले १३५ दिने युद्धविरामको प्रस्ताव गरेको छ। इजरायलसँग गरिएको यस प्रस्ताव स्विकार भएको खण्डमा गाजामा करिब साढे चार महिनाको लागि शान्ति आउने अपेक्षा गरिएको छ।

हमासको राजनीतिक ब्युरोका वरिष्ठ सदस्य मुहम्मद नाज्जलले प्रस्तावबारे बताएको अलजजिरालाई उद्धृत गर्दै द गार्जियनले लेखेको छ।

यस अवधिमा हमासले सबै बन्दीहरूलाई मुक्त गर्ने छ। तर, प्रतिक्रियामा इजरायलले गाजा पट्टीबाट आफ्ना सेना फिर्ता लैजानुपर्ने छ। गत हप्ता कतारी र इजिप्टका मध्यस्थकर्ताबाट हमासले अमेरिका र इजरायलको समर्थन रहेको युद्धविराम सम्झौता प्राप्त गरेको बताइएको छ।

गत अक्टोबर ७ देखि सुरू भएको युद्ध रोक्न यो अहिलेसम्मकै ठूलो कूटनीतिक पहल ठानिएको छ भने नयाँ सम्झौताले युद्धको अन्त्य हुने समेत अपेक्षा गरिएको छ।

इजरायलले हमासको सखाप नभएसम्म गाजाबाट आफ्ना सेना फिर्ता नगर्ने बताउँदै आएको छ। इजरायलले यो प्रस्तावबारे कुनै पनि सार्वजनिक प्रतिक्रिया दिइनसकेको रोयटर्सले जनाएको छ।

रोयटर्सले युद्धविराम प्रस्ताव प्राप्त गरेको जनाउँदै तीन चरणको युद्ध विरामको हरेक चरण ४५ दिनको रहने उल्लेख गरेको छ। यो क्रममा दुवै पक्षले बन्दीहरू फिर्ता गर्ने, गाजाको पुनर्निर्माण सुरू हुने, इजरायली सेना पूर्ण रूपमा फिर्ता हुने र शव आदानप्रदान हुने बताइएको छ।

– एजेन्सी