पाकिस्तानमा आज आम निर्वाचन हुँदै

spot_img

काठमाडौं –  पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ । बढ्दो महँगीले आर्थिक संकट झेलिरहेका बेला पाकिस्तानी नागरिक आउँदो पाँच वर्षका लागि आफ्नो राजनीतिक भविष्य तय गर्ने तयारीमा रहेको बीबीसीले जनाएको छ ।

पाकिस्तानको निर्वाचन आयोगले चुनावको सबै तयारी पूरा भएको जनाएको छ । आयोगका अनुसार देशभर ९० हजार ६ सय ७५ मतदान केन्द्र स्थापना गरिएको छ । चुनावमा एक सय ६७ राजनीतिक दल र स्वतन्त्र गरी पाँच हजार एक सय २१ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् ।

चुनावमा पूर्वप्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लिगदेखि बिलवाल भुट्टो र आसिफ अली जरदारीको नेतृत्वमा रहेको पाकिस्तान पिपुल्स पार्टीसम्मले प्रतिस्पर्धा गर्दैछन् ।

इमरान खानको पाकिस्तान तहरीक–ए–इनसाफ पाटीको चुनाव चिह्न खारेज गरेका कारण यसका उम्मेदवार स्वतन्त्ररूपमा चुनावमा प्रतिस्पर्धा गर्दैछन् । पाकिस्तानमा १२ करोड ८५ लाख जना मतदाता छन् । पाकिस्तानमा दुई सदनात्मक संसदीय प्रणाली छ । जसमा राष्ट्रिय सभाका धेरै सदस्य नागरिकले चुन्ने व्यवस्था छ ।

राष्ट्रिय सभामा कुल ३ सय ३६ सिटमध्ये २ सय ६६ सिटका लागि नागरिकले मतदान गर्नेछन् भने बाँकी ६० सिटमा महिला र १० सिट गैरमुस्लिमका लागि आरक्षित छन् । यसअघि २०१८ मा भएको आम चुनावमा ५२ प्रतिशत नागरिकले आफ्नो मताधिकार प्रयोग गरेका थिए ।

यसैबीच, चुनावको पूर्वसन्ध्यामा पाकिस्तानको बलोचिस्तान प्रान्तमा दुई वटा बम विस्फोट हुँदा ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । चुनावको अघिल्लो दिन भएको विस्फोटले धाँधली हुने सम्भावना बढेको खबरमा उल्लेख छ । विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।

-बीबीसी