टीकापुर जग्गा घोटाला प्रकरणमा २४९ जनाविरूद्ध मुद्दा चलाउने अख्तियारको निर्णय

spot_img

काठमाडौं। टीकापुर जग्गा घोटाला प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २४९ जनाविरुद्ध मुद्दा चलाउने भएको छ।

बिहीबार बसेको अख्तियारको बैठकले टीकापुरको बजार क्षेत्रमा रहेको ३० बिघा सरकारी जग्गा घोटाला प्रकरणमा २४९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा लैजाने निर्णय गरेको हो। काठमाडौंको ललिता निवासभन्दा ठूलो भ्रष्टाचारका रुपमा परिचित टीकापुर जग्गा प्रकरणको फाइल अख्तियारले बिहीबार नै विशेष अदालत पठाएको छ ।

बजार क्षेत्र वरिपरिको करिब ३० बिघा सरकारी जग्गा टीकापुर विकास समितिका पदाधिकारीको नाममा दलका कर्यकर्ता र उनीहरूका आफन्तलाई वितरण गरिएको थियो। अनुसन्धानका क्रममा जग्गा वितरणमा अनियमितता भएको पाइएपछि मुद्दा चलाउने निष्कर्षमा अख्तियार पुगेको हो ।

अख्तियारले टीकापुर विकास समितिका सबैजसो पदाधिकारीलाई प्रतिवादी बनाउने भएको छ । उनीहरु अधिकांश अछाम जिल्लाका छन्।

काठमाडौंको ललिता निवास जग्गा घोटालामा १ सय ७५ जना प्रतिवादी रहेकाले टीकापुर जग्गा प्रकरणलाई ठूलो मानिएको छ ।