सरकारले न्याय नदिएसम्म घर फर्किँदैनौँ : मिटरब्याज पीडित

spot_img

काठमाडौँ- लघुवित्त, मिटरब्याज र सहकारी पीडितहरूले सरकारले न्याय नदिएसम्म घर नफर्कने जनाएका छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनीहरूले मिटरब्याज पीडितहरू लाखौँको संख्यामा रहेको र सरकारले न्याय नदिएसम्म घर नफर्कने जनाएका हुन् ।

मिटरब्याज तथा ठगी विरोधी किसान संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहले आफूहरू विगत ३ वर्षदेखि निरन्तर आन्दोलनरत रहेको बताए । मिटरब्याज पीडितहरू लाखौँको संख्यामा रहेको र उनीहरूले आफ्नो उजुरी दर्ता गराउन नपाउँदै उक्त समस्या छानबिनका लागि बनेको आयोगको म्याद सकिएको उनले बताए ।

उनले सरकारले तत्काल आयोगमार्फत उजुरी दर्ता प्रक्रिया खुल्ला गराउन पर्ने, पक्राउ पुर्जी, निषेधाज्ञा खारेज हुनुपर्ने र वडामा दर्ता भएको फर्जी तमसुकहरू अवैध घोषणा हुनुपर्ने माग गरे । त्यसैगरी पीडकहरूले घटाएको हिंसा, हत्या, बलात्कारलगायतका घटनाहरू छानबिन गरी उचित दण्ड सजायको व्यवस्था गरिनुपर्ने उनको भनाइ छ ।

त्यस्तै मिटरब्याज पीडित शिलादेवी ठाकुरले आफूले पटक-पटक गरी तीन लाख ऋण लिएकोमा ३०औं लाख ब्याज जोडेर साहुकारले दुःख दिएको बताए । ऋण लिएको भन्दा साहुकारले चार गुणा बढाएर कागज गराएको र जति तिर्दा पनि नसकिएको उनले बताए ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीले सहकारी पीडितहरूको पक्षमा आफूहरूले ६३ दिन आन्दोलन गरेको उल्लेख गरे । आन्दोलनका क्रममै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ प्रदर्शन स्थलमै आएपश्चात सात बुँदे सहमति भएको उनले बताए ।  -आर एन