संसद्‍मा छिरेका ४९ जना लघुवित्त पीडितविरुद्ध मुद्दा चलाइँदै, ७ दिन हिरासतमा राख्न अनुमति

spot_img

काठमाडौं। सोमबार दिउँसो नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रबाट संसद् भवन परिसरमा छिरेका ४९ जना लघुवित्त पीडितहरूलाई मुद्दा चलाइने भएको छ। आन्दोलनका क्रममा संसद् भवनको गेटमा ड्युटीरत सुरक्षाकर्मीलाई ठेल्दै संसद् भवन परिसरमा छिरेकामध्ये ४९ जनालाई मुद्दा चलाउन ७ दिन म्याद लिइएको हो।

उनीहरूविरुद्ध मुद्दा अघि बढाउन मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४८ जना महिला र एकजना पुरुष आन्दोलनकारीलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो।

लघुवित्तका पीडितहरु संसद् भवन परिसरमा प्रवेश गरे, पक्राउ गरियो | NepalManch

उनीहरू सबैजनाविरुद्ध सार्वजनिक शान्तिविरूद्धको कसुरमा अनुसन्धान गरिरहेको प्रहरीले प्रशासनबाट म्याद लिएपछि अब मुद्दा प्रक्रिया अघि बढ्ने भएको हो।

पक्राउ परेका उनीहरूलाई काठमाडौंस्थित नयाँबानेश्ववरसहित विभिन्न प्रहरी वृत्तको हिरासतमा राखिएको छ।

यसअघि सोमबार नै लघुवित्त पीडितहरू संसद् भवन परिसरमा छिरेको प्रकरणमा प्रहरीले छानबिन समिति पनि बनाइसकेको छ।

घटना छानबिनका लागि प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज मैनालीको संयोजकत्वमा ३ सदस्यीय समिति बनाइसकेका छन्।

-एनपि